Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ–कहाँ पाइन्छ नयाँ नोट

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको बैङ्कले उपत्यकाबाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।
राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर यस पटक राष्ट्र बैङ्कले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैङ्कले जनाएको छ । उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट नयाँ नोट वितरणको चाँजोपाँजो मिलाइएको जनाएको छ ।

उपत्यकाभित्र राष्ट्र बैङ्कका अतिरिक्त नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार नेपाल बैङ्क लिमिटेडका उपत्यकास्थित सातवटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् । राष्ट्र बैङ्कका अनुसार कृषि विकास बैङ्कले काठमाडौँ उपत्यकाका छवटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ । राष्ट्र बैङ्कले यसका अतिरिक्त अन्य बैङ्क तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैङ्कका अनुसार आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्ने छन् ।

राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने सुविधा छ । राष्ट्र बैङ्कका अनुसार उसका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ । उपत्यकाभित्र अन्य बैङ्कमार्फत् नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैङ्कले उपत्यकाबाहिर भने अन्य बैङ्कबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

अघिल्ला वर्षहरूमा राष्ट्र बैङ्कले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरूले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे । तर यस पटक सहकारी संस्थाहरूलाई राष्ट्र बैङ्कले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार राष्ट्र बैङ्कले राष्ट्रिय सहकारी बैङ्कलाई नयाँ नोट दिने छ र सहकारी संस्थाहरूले राष्ट्रिय सहकारी बैङ्कमा गएर नयाँ नोट लिन पाउने छन् । धेरै भीडभाड भएको र झन्झटिलो भएकाले यस वर्ष सीधै सहकारी संस्थाहरूलाई रकम वितरण नगरिने निरौलाले बताए ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल