Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनाङे भन्छन्, सरकारी पैसाले चिया खान पनि पुग्दैन

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छनैन् । तर, मनाङेले पत्रकार सम्मेलन गरेर आइतबार यो विषयमा आफ्नो भनाइ राखेका छन् ।
मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का नभएको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘म आफैँ कन्फ्युज छु के, मसँग के छ, के छैन भन्ने कुरा । समस्या कहाँ छ भने, पहिली श्रीमतीलाई दिइसकेको छु । छोराहरूको नाममा राखेको छ । त्यसलाई मेरो भनुँ भने समस्या आउला ।’ पहिले आफूले व्यापार गर्दा कमाएको भन्दै मनाङेले केही पैसा उठ्नै बाँकी रहेको बताए । ‘मैले बीचमा विजनेस गर्दाको पैसा छ । त्यो पैसा केटाहरूसँग छ । आएको छैन । आउनेवाला छ भनेर लेख्न नमिल्ने रहेछ’, उनी भन्छन्, ‘रामेले २० लाख लगेको छ, श्यामेले दुई करोड लगेको छ भनेर लेख्ने होइन होला ।’
आफूसँग भएको केही सम्पत्तिमा मुद्दा चलिरहेको मनाङेले बताए । कर्तव्य ज्यान मुद्दामा कारबाही भोग्न बाँकी उनी अहिले गण्डकीको मन्त्रीका रूपमा कार्यरत छन् । मनाङेलाई अकुत सम्पत्ति कमाएको आरोपमा अर्को पनि मुद्दा परेको थियो । तर, उक्त मुद्दाबाट सफाइ पाइसकेको उनको दाबी छ ।
उनले मन्त्रीको तलबले चिया खान पनि नपुग्ने बताए । त्यसैले अब ब्यापार गर्ने सोचमा उनले रहेको बताए । उनले भने, ‘अहिले कुनै नयाँ व्यापार गरेको छैन । अब व्यापार गर्न लागिरहेको छु, मन्त्रालय सेटल भइसकेपछि । हामीले पनि भात खानुपर्‍यो । सरकारी पैसाले चिया खान पनि पुग्दैन ।’