Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको जवाफले उनीहरुको ओठतालु सुक्यो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो ।
सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदन शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो । एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।
एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी एकतावद्ध बनाउन गरिएको १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ को कमिटी र जिम्मेवारी कार्यान्वयन नभएको भन्दै तेस्रो धारका केही नेताले असन्तुष्टि जनाएका छन् । १० बुँदे कार्यान्वयनको विषय पनि जारी बैठकको एजेण्डा बन्नु पर्ने उपाध्यक्ष भीम रावलको प्रस्ताव र सबै कमिटीलाई पूर्ववत पुर्‍याउनु पर्ने झपट रावल, भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगायतको मागमा संस्थापन पक्षले सकारात्मक जवाफ दिएको छ । तर, जारी बैठकमा ती विषय एजेण्डा बन्न नसन्के अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि असन्तुष्ट समूहले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भएको छ ।
केन्द्रीय सदस्य भानुभक्त जोशीका अनुसार सहमति कार्यान्वयन गरे महाधिवेशन प्रतिनिधि चुन्न सहज हुने भएकाले शुक्रबारको बैठकमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराइएको हो । सुदूरपश्चिममा को इन्चार्ज र कसले गरेको निर्णय आधिकारिक हुने भन्ने विषय अन्योलमा रहँदा प्रतिनिधि चयनमा आउन सक्ने समस्यालाई सुझाउन ध्यानाकर्षण गरिएको उनले बताए । तर बैठक नै वहिष्कार गर्ने जस्ता विषय आफूहरुले नगरेको उनले बताए । नेकपा एमालेभित्र सूदुरपश्चिमा लेखराज भट्ट कि भीम रावल इन्चार्ज भन्नेमा एमालेमा विवाद छ । २०७५ जेठ २ मा फर्कदा भीम रावल इन्चार्ज हुनेछन् । तर भट्टले त्यो मान्य नहुने बताउँदै आएका छन् ।