Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सावधानी अपनाउने पाइलटमाथि नै कारबाही ?

काठमाडौं । ठूलो दुर्घटना सानो सावधानीले रोक्न सकिन्छ । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई बुद्ध एयरले उडानमा रोक लगाएको छ । सोमबार भएको सो घटनाका कारण उनीहरुको मनोवलमा कमि आउन सक्ने भन्दै कम्पनीले सो उडानका चालक दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाएको हो । चालक दलका सबै सदस्यलाई उडानमा रोक लगाएको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि मंगलबारबाटै उडाउन सुरु गरेको छ । जहाजमा समस्या नआएको जनाउँदै पुनः सुचारु गरे तापनि चालक दलका सदस्यलाई ग्राउन्डेड ९उडानमा रोक० लगाएको भन्दै विरोध समेत भएको छ ।
बुद्धले प्रारम्भिक अनुमान अनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालक दलले विराटनगरमा अवतरण नगरेको पाइएको जनाएको छ । बुद्धले गत सोमबार नै जहाजमा ल्यान्डिङ गियरका लागि रहेका दुइटा इन्डिकेटर मध्येमा प्राइमरी इन्डिकेटरमा ग्रिन संकेत नदेखिदा पाइलटले अवतरण नगरी काठमाडौं फर्काएको जनाएको थियो ।
जहाजको म्यानुअलमा दुई इन्डिकेटरमध्ये एउटाले डाउन देखाउँदा ल्याण्ड गर्न मिल्छ, तर बुद्धका प्रशिक्षक पाइटल समेत रहनुभएका शेर्पाले म्यानुअल अनुसार ल्याण्ड गर्नुभएन । प्राङग्रा नर्झदा ल्याण्ड गरेको भए ठूलो दुर्घटना हुन सक्थ्यो, तर उहाँले सबैलाई सुरक्षित रुपमा काठमाडौंमा अवतरण गर्न सफल हुनुभयो, ती पाइलटले भने । सोमबारको उडानका कमान्डर शेर्पा एटीआर–७२ का प्रशिक्षक पाइलट तथा प्राधिकरणमा पाइलटलाई जाँच लिने डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन । बुद्धको सो घटनाका सम्बन्धमा अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र कम्पनीले छानविन समिति गठन गरेको छ ।
क्यानका निमित्त महानिर्देशक राजकुमार क्षेत्री छानविनका क्रममा तथ्य–प्रमाण सबै जुटाउनु पर्ने भएकाले क्याप्टेन शेर्पालाई केही समयका लागि उडानमा रोक लगाइएको बताउँछन् । क्यानको उडान सेप्टीको नियम अनुसार पाइलट शेर्पासँगै उडान दलका सबै सदस्यलाई केही समय उडानमा रोक लगाइएको छ । यस्तै पर्यटन मन्त्री समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले बुद्धको जहाजमा देखिएको प्राविधिक समस्यामा चासो देखाएका छन् । उनको चासोपछि मन्त्रालयले बुद्धको जहाजमा मात्रै नभएर सबै जडाजमा सो समस्या पुनः देखिन सक्ने भन्दै सबै जहाजको प्राविधिक अध्ययन गर्न ५ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
प्राविधिकले जहाजको अवस्थाको बारेमा चाजँबुझ गर्दा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि उडान सुचारु गरिएको बुद्ध एयरले जनाएको छ । हाम्रा प्राविधिकले र क्यानका प्राविधिकले जहाजमा कुनै पनि समस्या नरहेका जनाएपछि पुनः उडान सुचारु गरिएको हो, बाँकी कुरा अध्ययन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि थाहा भैहाल्छ, बुद्धका एक कर्मचारीले भने, क्यानको निर्देशन अनुसार केही समय रिफरेस्सका लागि चालक दलका सदस्यलाई बिदामा राखिएको हो ।