Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको पलानमा रामचन्द्र

काठमाडौँ । काँग्रेसभित्रका स्थायी प्रतिपक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल झनै पेलामान परेका छन् । कांग्रेसको भागमा ७ मन्त्री र १ राज्यमन्त्री परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा तीन मन्त्री आफ्नो समूहले पाउने आस गरेका थिए । यसका लागि उनले शुक्रबार बिहानसम्म प्रधानमन्त्री देउवामाथि दबाब जारी राखेका थिए । आफ्नो समूहका महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंह समूहलाई सन्तुलनमा राख्न पनि उनीसामु ३ मन्त्री ल्याउनैपर्ने बाध्यता थियो । तर प्रधानमन्त्री देउवाले २ मात्र मन्त्री दिएका छन् । शुक्रबार पूर्णता पाएको मन्त्रिपरिषदमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित ९ जना छन् । प्रधानन्यायधीसको कोटाबाट मन्त्री भएका गजेन्द्र हमाललाई पनि कांग्रेसले आफ्नो तर्फबाट भनेको छ । रक्षामन्त्रीमा नियुक्त मीनेन्द्र रिजाल, कानुन–न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र खानेपानीमन्त्रीमा नियुक्त उमाकान्त चौधरीबाहेक सबै देउवा समूहका हुन् । पौडेल समूहका नेता रामशरण महतले सभापतिले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी र सरकारभित्र सन्तुलन कायम गर्न नसकेको टिप्पणी गरे । पौडेललाई दुई मन्त्रालय मात्र दिएर देउवाले एकैपटक तीन तीर हानेका छन् । पहिलो– आफ्नो समूहलाई बलियो हैसियत दिलाए, दोस्रो– पौडेललाई सानो समूहमा खुम्च्याए र तेस्रो– पौडेल समूहभित्र विवाद सिर्जना गराइदिए । पार्टीको १३ औं महाधिवेशनमा देउवासँग चुनाव लड्दा ४१ प्रतिशत मत ल्याएका पौडेलले पार्टी र अन्य निकायमा कम्तिमा ४० प्रतिशत हिस्साको माग गर्दै आएका छन् । देउवाले भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत ४० प्रतिशतबाटै दिने गरेका छन् । देउवाले यसपटक अझ अघि बढेर पौडेललाई शशांक कोइराला र सिटौला समान हिस्सा दिएका छन् । दुईमात्र मन्त्रालय पाएपछि पौडेल समूहको आन्तरिक र देउवासँगको बैठकमा समेत पौडेल, कोइराला र सिंहले आ–आफ्ना मान्छेलाई मन्त्री बनाउन लबिइङ गरेका थिए । अन्ततः पौडेलको प्रस्तावमा बडू र कोइरालाको प्रस्तावमा रिजाल मन्त्री भए । सिंहले आफ्नो समूहका साथै प्रधानमन्त्री देउवासँग बार्ता गर्दा पनि राजन केसीलाई मन्त्री बनाउन सकेनन् । सिंह प्रधानमन्त्रीभन्दा पनि फौडेलसँग बढी त्रुद्ध भएको उनीनिकट एक नेताले बताए । अर्कातर्फ मन्त्री बन्न नपाउँदा नेतृ सुजाता कोइराला पनि आफ्नै समूहसँग रुष्ट छिन् । यसपटक प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई समूहको नेताका रूपमा व्यवहार गरेको देखिएन । उक्त समूहका अन्य नेता, विशेषगरी महामन्त्री शशांकसँग ‘एकल डिल’ गरेका थिए । पौडेल मन्त्रिपरिषद्मा एकीकृत समाजवादीका तर्फबाट आउन लागेका कृष्णकुमार श्रेष्ठलाई पनि रोक्न चाहन्थे । श्रेष्ठले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित गरेकाले मात्र नभई पौडेल र श्रेष्ठबीच गृहजिल्ला तनहुँमा ठूलो द्वन्द्व छ । २०७७ मंसिरमा बल्दीखोला पुल उद्घाटन गर्न गएका पौडेललाई श्रेष्ठले अवरोध पुर्‍याउन खोज्दा लफडा भएको थियो ।