Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाम काटिएपछि प्रमोदको विद्रोह

काठमाडौं । मन्त्रीहरुको चर्चामा रहेका सबैले मन्त्री पद पाएनन् । मन्त्री पद नपाउने केहीले सामान्य भएको प्रतिक्रिया दिए पनि केही भने निकै आक्रोशित देखिएका छन् मन्त्रीको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा विद्रोहको तयारी भइरहेको बताइन्छ । उनको सट्टा महेन्द्र राय यादव कृषि तथा सहकारीमन्त्री बनेका छन् ।

देउवा सरकारमा जसपाले चार वटा मन्त्रालय पाएको थियो । कार्यकारिणी समितिले मन्त्री टुंगो लगाउन शीर्ष तीन नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मा दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाउँदा दाबेदारहरुलाई चार समूहमा विभाजन गरिएको थियो । नेताहरुका अनुसार राजपा पृष्ठभूमि भएका प्रदेश २ का सांसदहरुमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने थियो, जसमा महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । प्रदेश २ बाहेकबाट इस्तियाक राई र राजेन्द्र श्रेष्ठ दावेदार थिए भने महिलाबाट रेणु यादव र अमृता अग्रहरि थिए । यस्तै पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्न सक्ने एक सांसदलाई मन्त्री बनाउनुपर्ने थियो ।

प्रदेश २ बाहेकबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र महिलाबाट रेणु यादव मन्त्री बने भने पार्टी र सरकारलाई जोड्ने भूमिकामा अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई मन्त्रीका रुपमा चयन गरे । उनी यादवका विश्वास पात्र समेत हुन् । बाँकी रह्यो राजपा पृष्ठूभूमिबाट को मन्त्री बन्ने भन्ने विषय रु जसपाका नेताहरुका अनुसार शुरुमा महेन्द्र रायको सम्भावना थियो । पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच विवाद चल्दा आफूले पूर्व राजपा समूहमा विद्रोह गरेर साथ दिएकाले सरकारमा जाने अवसर आफूले पाउनुपर्ने उनको तर्क थियो ।

तर पूर्व राजपा, त्यसमा पनि सद्भावना पृष्ठभूमि भएका सांसदहरु प्रमोद साह, अमिता अग्रहरि, मृगेन्द्रकुमार सिंह, रानी मण्डल जसपामा छन् । उनीहरुले महेन्द्रलाई नभई आफूहरुमध्ये एकलाई मन्त्री बनाउनुपर्ने माग गरेका थिए । त्यसैले सर्लाही १ बाट प्रत्यक्ष निर्वाचित साहलाई मन्त्री बनाउने सहमति भएको थियो । नेता कार्यकर्ताले साहलाई बधाई दिन थालिसकेका थिए । तर राष्ट्रपति कार्यालयबाट मन्त्रीहरुको सूची आउँदा प्रमोद साहको नाम थिएन । जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, महेन्द्र राय यादव कृषि, रेणु यादव भौतिक पूर्वाधार र रामसहाय यादव वन तथा वातावरणमन्त्री बनेका छन् । अर्थात जसपाका चारमध्ये तीन मन्त्री यादव भए ।