Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार जनाको ज्यान गएको र पाँच दर्जन घाइते बनाउने मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

रूपन्देही । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका मुख्य व्यक्तिलाई मंगलबार बुटवलबाट पक्राउ गरिएको छ । राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका ४४ वर्षीय साविर अलीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार अलीकै अध्यक्षतामा भएका छलफल, बैठक र बैठकका निर्णय पनि बरामद भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार अलीलाई बुटवल–११ देवीनगरबाट सोमबार नै पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानपछि मंगलबार सार्वजनिक गरिएको कुँवरले बताए । प्रहरीले घटना र मोतीपुर क्षेत्रमा जग्गा कब्जा गर्ने र गर्न उक्साउनेहरुको थप विवरण पनि संकलन गरिरहेको छ । पक्राउ परेका अलीसँगबाट पनि भेला र बैठकमा निर्णय पुस्तिका, निर्णय र प्रहरीसँग प्रतिकार गर्न आवश्यक पर्ने तयारीका विषयमा भएका निर्णय पनि प्रहरीले फेला पारेको छ । पक्राउ परेका अली यसअघि पनि रूपन्देहीकै अन्य सुकुम्बासीहरुको बसोबास रहेको क्षेत्रमा पनि समूह बनाउने लगायतका काममा संलग्न रहेको देखिएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए । पक्राउ परेका अलीलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । अलीको डेराबाट प्रहरीले ३ थान ब्यानर, माइन्युटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बरसहितको नामावली उल्लेख भएको १३ थान कागजात र बस्ती विकासको सहयोग रसिद २ थान जफत गरेको छ । बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका अतिक्रमणकारी र प्रहरीबीच असोज २४ गते भएको झडपमा ४ जनाको मृत्यु भएको थियो । प्रहरीसहित झण्डै ६० जना घाइते भएका थिए । घटनापछि मोतीपुरको रानीगन्ज क्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको छ । मोतीपुर क्षेत्र अहिले पनि प्रहरीको कडा निगरानीमै राखेर सुरक्षाकर्मी परिचालन भइरहेको छ ।