Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मकवानपुर , ११ कार्तिक । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । शाक्यको राजीनामालगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित बुधबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । ‘नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेसँगै हामीले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइसकेका छौं, बिहीबार दिउँसो ५ बजेभित्रमा नयाँ सरकारले शपथग्रहण गर्ने तयारी छ,’ नेता पाण्डेले भने । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धन दलहरूबीच पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी छ ।
गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस) का उपनेता कृष्ण खनालले शपथ लिने बुझिएको छ । ‘मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्छौं, तिहारलगत्तै हामी विश्वासको मत लिन्छौं र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं,’ पाण्डेले भने । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा ९एस० ले सामाजिक विकास मन्त्रालय लिनेछन् । पाण्डेले सरकारले सदनबाट विश्वासको मत लिएपछि प्रदेशसभामा नयाँ नीति तथा कार्यक्रम र सरकारको योजना पेस गर्ने बताए । ‘समय थोरै भए पनि हामी काम गर्न सक्षम छौं, जनतालाई सरकारको अनुभूति दिलाउन सक्दो मिहिनेत गर्छौं,’ उनले भने ।
आवश्यकताका आधारमा मन्त्रालयको संख्या थप्ने उनले बताए । ‘हामी गठबन्धनमा छौं, आवश्यकताका आधारमा मन्त्रालय बढ्न सक्छ । हामी त्यसका लागि तयारी गर्नेछौं ।’ दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसकेको उनले बताए । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सहमतिअनुसार मन्त्रालयको भागबन्डा टुंगो लाग्ने बताए । ‘हामी छलफलकै क्रममा छौं, सरकारले सदनबाट विश्वासको मत लिएपछि मन्त्रालयको बाँडफाँट टुंग्याउँछौं,’ उनले भने । वाग्मती प्रदेशमा सत्तारूढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।
शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बाहिरिएकी हुन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेकी थिइन् ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल