Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिस्पर्धीलाई अध्यक्षको चेतावनी

काठमाडौँ । एमालेभित्र आफ्नो पकड बलियो बनाउन लाग परेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रका विपक्षीलाई अझै कमजोर बनाएर पार्टीभित्र एकाधिकार कायम गर्ने अभियानमा अघि बढेका छन् । भित्रभित्रै दबाव सिर्जना गरेका अध्यक्ष ओलीले चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने बताए पनि मैदानमा उत्रिन तयार रहेकाहरुलाई घुमाउरो पाराले भोलिका दिन हेर्न चेतावनी दिइरहेका छन् । आफूसँग अरूले प्रतिस्पर्धा गर्दा पनि केही फरक नपर्ने उनले जनाएका छन् । अध्यक्षमा फेरि उठ्ने औपचारिक घोषणा गरिनसकेका ओलीले आफूले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने आम साथीहरूको धारणा रहेको उल्लेख गरे । म उठें भने भरसक सर्वसम्मत होला । मैले सहमति गरौं, मलाई निर्विरोध छोडिदिनुहोस्, तपाईं अध्यक्षमा नउठिदिनुहोस् भन्ने छैन, उनले भने, म कसैलाई दबाब दिन चाहन्नँ । कसैले आफ्नो अधिकारको कुरा गर्दा मैले दबाब किन दिने ? आफूसँग प्रतिस्पर्धा गर्नेले मतपरिणामबारे भने ख्याल गर्नुपर्ने ओलीको भनाइ छ । कसैले प्रतिस्पर्धा गर्न खोज्यो भने परिणाम के हुन्छ, सबलाई थाहा छ । त्यसमा खाली पार्टीको इमेज र युनिटीलाई कमजोर देखाउने अथवा पार्टीभित्र प्रतिपक्ष छ भन्ने देखाउने कुरा मात्र हुन्छ, उनले थपे । पार्टीभित्र फरक मत राख्नेप्रति कुनै पूर्वाग्रह नरहने उल्लेख गर्दै उनले एमालेमा पूर्वमाओवादी र १० भाइ समूह नरहेको दाबी गरे । अब १० भाइवाला कुरा केही छैन । कुनै साथीले बोलेको छ भने त्यो उसको निजी कुरा हो । तपाईंहरूलाई यो भ्रम नरहोस् कि भीम रावलले बोलेको कुरा १० भाइको कुरा होइन। महाधिवेशनबाट नेतृत्व चयन गर्दा नेता व्यवस्थापनभन्दा देशलाई सही बाटोमा लैजाने नीति महत्त्वपूर्ण हुने बताए । केन्द्रीय पदाधिकारी संख्या बढाउने सम्भावनालाई उनले अस्वीकार गरे । पदाधिकारीको संख्या कसैको आकांक्षा हेरेर होइन, आवश्यकता हेरेर निर्धारण हुन्छ । मान्छेका आकांक्षा हेर्‍यो भने सबैको अध्यक्ष, उपाध्यक्ष हुने होला । अध्यक्ष हुने आकांक्षा भए चुनाव लडेर आए भयो, उनले स्पष्ट गरे, वास्तवमा हुनुपर्ने एक–एक अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव हो । आगामी संसदीय चुनावमा उनले कुनै पार्टीसँग तालमेल नगर्ने तर चुनावपछि सरकार निर्माणमा भने गठबन्धन हुन सक्ने संकेत गरे ।