Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले महाधिवेशनको रनक चितवनमा चहलपहल सुरु

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत हुने छ ।
आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस गेट, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोकबाट जुलूस निकालिने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलूस निस्कने बताइन् । झण्डा, पार्टीको ब्यानरसहित नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुग्ने उनको भनाइ छ ।
अहिले विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ताहरु नारायणी नदी किनारमा पुग्ने क्रम जारी छ । रातभर गाडीमा यात्रा गरेका कार्यकर्ताहरु पार्टीको झण्डा, चुनाव चिह्न र अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित ब्यानर बोकेर हिंडिरहेका देखिन्छ । जुलूस शुरु हुनुअघि फुर्सदमा देखिएका एमाले कार्यकर्ताहरु नारायणी नदी किनारमा फोटो खिच्न र घुमघाम गर्न व्यस्त देखिन्छन् ।
भारतीय नम्बर प्लेटका गाडी र स्कूलका बस समेत रिजर्भ गरेर एमालेले मानिसहरुलाई चितवनमा ओसारेको छ । ती कार्यकर्ताहरुको चहलपहलले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि १५०० बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
पश्चिम नेपालबाट आउने सवारी साधनलाई गैंडाकोटको भृकृटी कागज कारखाना अगाडि नै रोकेर त्यहीँ नै पार्किङको व्यवस्था मिलाइएको छ । यस्तै पूर्वी नेपालका विभिन्न जिल्लाबाट महाधिवेशनका लागि सहभागी लिएर आउने गाडीहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा झारेर बसहरु सबैलाई टिकौली जंगलको पूर्व रहेको चौरमा पार्किङमा राख्ने व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार