Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता छान्न एमालेको मतदान सकियो

चितवन । अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने योजना असफल भएपछि नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २०८१ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।
त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ । खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन भएको हो । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन भएको छ ।