Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले महाधिवेशनमा चीनको कुटनीतिक सन्देश

नेपालको सबैभन्दा ठूलो र व्यवस्थित राजनीतिक पार्टी नेकपा एमालेको चितवनमा भएको दशौं महाधिवेशन भव्य र शानदार रुपमा सम्पन्न हुँदैछ । यत्रो महाधिवेशनमा उत्तरी छिमेकी मित्रराष्ट्र चीनले भौतिक उपस्थिति नजनाएर जुममार्फत् मात्रै शुभकामना दिनुलाई कुटनीतिक रुपमा चीन एमाले र विशेष गरेर केपी ओलीको दोहोरो रणनीतिदेखि सचेत छ भन्ने पनि हो । चिनियाँहरू भारतीय, अमेरिकन र युरोपियनहरू जस्तो निर्वस्त्र कुटनीतिक अभ्यास गर्दैनन् । उनीहरूले कतिपय कुराहरू सांकेतिक रुपमा सन्देश दिन्छन् । एमालेको दशौं महाधिवेशनमा चीनको भौतिक अनुपस्थितिलाई यसरी नै लिनुपर्दछ । नेपालमा गणतन्त्र घोषणापूर्व परिवर्तित चिनियाँ राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र (क्रेडेन्सियल) कसलाई दिन्छन् भन्ने चासो थियो ।

राजालाई अधिकारबाट निलम्बन गरेर गिरिजाप्रसाद कोइरालाले अधिकार केन्द्रीत गरेका थिए । चिनियाँ राजदूतले ओहोदाको प्रमाणपत्र पेश नगर्दासम्म बेलायतसहित कतिपय युरोपेली राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका थिएनन् । जब चिनियाँ राजदूतले क्रेडेन्सियल गिरिजाप्रसाद कोइरालालाई दिए तब मात्र उनीहरूले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । यसरी कुटनीतिक रुपमा चीन गणतन्त्रको एजेन्डामा उभिएको थियो । त्यसैगरी दोस्रो संविधानसभा बहिष्कारका क्रममा चीनको तर्फबाट उपविदेशमन्त्री आइपीङ नेपाल भ्रमणमा आएका थिए । उनले प्रचण्ड, झलनाथ, सुशील कोइरालासहित सबै पार्टीका शीर्ष नेतृत्वलाई घरैमा भेटेका थिए । तर संविधानसभा चुनाव बहिष्कार गरेका मोहन वैद्यको समूहलाई अर्थात् मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द, पम्फा भुसाल, देव गुरुङलाई काठमाडौं डिल्लीबजारमा रहेको भोजन गृह नामक सीआईए मुख्यालयमा भेट गरे ।

यसको संकेत के थियो भने, भोजन गृहमै दमननाथ ढुंगाना र पदमरत्न तुलाधरको नेतृत्वमा एनटीटीपी पीसमार्फत् भोजन गृहमा अफिस राखेर नेपालमा चीन विरोधी जातिवादी स्वतन्त्र तिब्बत अभियान चलाइरहेका थिए । चीनले तिमीहरूको मुख्यालय यही हो भन्ने कुटनीतिक सन्देशका साथ मोहन वैद्यलाई माओको नाम बदनाम गरेर माओवादका नाममा चीन विरोधी गतिविधि गरेको सन्देश दिएको थियो । कतिपय कुराहरू कुटनीकि रुपमा सांकेतिक ढंगले बुझ्नु पर्ने हुन्छ । अहिले एमालेको महाधिवेशनमा चीनले भौतिक रुपमा अनुपस्थिति जनाउनु कुटनीतिक सन्देश हो । किनकि ओली सत्तामा हुँदा एमसीसी पारित गर्न निर्वस्त्र रुपमा उत्रिएका थिए । अहिले पनि एमसीसीमा ओलीले दोहोरो रणनीति अपनाइरहेका छन् । त्यतिमात्रै होइन बोआओ फोरममा चीनले प्रधानमन्त्री ओली सत्तामा रहेको अवस्थामा विशेष रुपमा निमन्त्रणा गर्दा उनी चीनलाई बेवास्ता गरेर भारततर्फ हानिएका थिए ।

यसरी विगतमा ओली इन्डो पश्चिमी रणनीतिमा निर्वशस्त्र उत्रिएको हुनाले र अहिले एमालेको दशौं महाधिवेशनबाट पनि ओली नै निर्विकल्प अध्यक्ष बन्ने भएपछि कुटनीतिक सन्देश मार्फत् चीनले एमालेप्रति आफ्नो धारणा चीनको प्रतिनिधिको भौतिक उपस्थिति नजनाएर दिएको भन्दा अत्युक्ति हुने छैन नेकपा विभाजन नभएको भए नेपाल करिब करिब कम्बोडियाको मोडलमा सेटल हुँदै थियो । त्यसैअनुरुप ओलीलाई चीनको आग्रहमा कम्बोडिया भ्रमण पनि गराइएको थियो । अन्तिममा ओलीले चीनलाई धोका दिँदै इन्डो पश्चिमा रणनीतिमा उभिए । विगतमा राजा वीरेन्द्रलाई तिमी सिआइए मुख्यायको घेराबन्दीमा छौं भन्ने संकेतका साथ लाओस्को भ्रमण गराएको थियो ।

लाओस्को भ्रमण गराउनुको अर्थ त्यहाँको राजतन्त्रको मोडालिटीबारेमा राजा वीरेन्द्रले आत्मसात गरुन्, दरबार र सेनाभित्रको सिआइए मुख्यालयबाट बाहिर निस्किउन् भन्ने थियो । वीरेन्द्र उक्त घेरबाट निस्कन नपाउँदै वि.सं. २०५८ जेठ १९ गते नेपाली सेनाको दुईवटा गणको सुरक्षा रहेको नारायणहिटी राजदरबारभित्रै सम्पूर्ण वंश विनाश गरियो । यसकारण राजा ज्ञानेन्द्रको सेटल लाओस् या कम्बोडियाको मोडलभन्दा बाहिरबाट हुनै सक्दैन । अहिले जे जति गतिविधिहरू भइरहेका छन् उनको वरिपरिको गिरोहले इन्डो सिआईए रणनीतिअनुरुप नै गरिरहेको छ । जुन असम्भव छ ।

हो माओवादी हिंसाका अवयवहरूमा समस्या थियो । तर त्यसको अर्थ एकीकृत नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन होइन सहमति आवश्यक थियो । वामपन्थीहरूको एउटै पार्टी बनोस् भन्ने चीनको सुभेच्छाविपरित ओली उभिने काम मात्रै गरेनन् नेकपालाई विभाजन गर्न उनको प्रमुख भूमिका रह्यो । एमसीसीको पक्षमा निर्वस्त्र उभिएर आफ्ना परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिका पठाए । यी घटनाबाट शशंकित बनेको चीनले ओली अध्यक्षमा दोहोरिने एमाले महाधिवेशनमा अत्यन्त सचेतताका साथ भौतिक उपस्थिति नजनाई कुटनीतिक सन्देश दिएको छ । सबैलाई चेतना भया ।