Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोस्रो चरणमै नजाने देउवको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि अन्तिममा सहमति गर्ने अनुमान विपरित उम्मेदवारी परेको छ । भोलि करिब मध्याह्न अघिसम्म सम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय उपलब्ध हुनेछ। धेरै जनाको उम्मेदवारी परेको कारण कसैले फिर्ता नलिए पहिलो चरणमै निर्वाचनमा सभापति निर्वाचित हुने सम्भावना न्यून हुने देखिएको छ । सभापतिमा जितका लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । गत महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको मतदानमा कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि धेरै मत ल्याएका दुई जना देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । र, बाजी देउवाले मारेका थिए । १३ औं महाधिवेशनमा कांग्रेसका महाधिवेशन प्रतिनिधिले सभापतिका लागि दुई पटक मतदान गरेका थिए ।
अहिलेको अवस्था पनि त्यस्तै हुने कतिपयको अनुमान छ । संस्थापन पक्षका देउवाबाट छुट्टिएर निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। उनले संस्थापन पक्षकै भोट काट्ने छन् भने इतर पक्षको अवस्था पनि उस्तै छ । सभापतिका दुई उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंहबीच भोट बाँढिने निश्चित प्राय छ । अन्य दुई उम्मेदवारले धेरै मत नकाटे पनि त्यसको सामान्य प्रभाव पर्न सक्छ । देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच तालमेल भएको छ। तर, उक्त पक्षसँग धेरै मत भने रहेको छैन । सोमबार मतदान सकिएपछि सबैभन्दा पहिला सभापतिको मत गणना गर्ने र ५१ प्रतिशत मत कसैले नल्याए पुनः मत गणना गर्ने कार्यक्रम कांग्रेस निर्वाचन समितिको छ । त्यसपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने जनाइएको छ ।
देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् । शनिबार सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु। सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भनेका छन्, कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ। यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु। उनी निकटका नेताहरु पनि पहिलो चरणमै जित देउवाले निकाल्ने दाबी गर्छन् । तर, देउवाले पाँच वर्ष पार्टी हाँकीसकेका छन् । उनले नेतृत्व लिएको समयमा देशमा भएको तीन तहको चुनावमा कांग्रेस निकै कमजोर देखियो । वामपन्थी दलका अगाडी कांग्रेस निरीह देखियो । उनले हारमा समेत आफ्नो कमजोरीलाई स्वीकार गरेनन् । सरकारको नेतृत्व गरिरहेका भए पनि उनको शासन कालमा कांग्रेस नेता कार्यकर्ताले वाउ भन्ने खालको काम उनले गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा देउवाले दाबी गरेजस्तो पहिलो चरणमै सहजै चुनाव जित्ने सम्भावनालाई अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहले स्वीकार गरेका छेनन् ।