Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीको विधान संशोधन गर्दै ५ बाट १५ सदस्यीय पदाधिकारी बनाउने तयारी

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुष ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदासम्म माओवादीले पार्टीको केन्द्रीय पदाधिकारी कति हुने भन्ने टुंगो भने लगाइसकेको छैन ।

राष्ट्रिय सम्मेलनले नै पदाधिकारीको टुंगो लगाउने माओवादी संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनका अनुसार हाल विधानमा ५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

विधानमा पाँच सदस्यीय पदाधिकारीको व्यवस्था गरेका छौं । त्यसमा कति बढाउने भन्ने राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ,” उनले भने ।

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार विधान संशोधनको तयारी भइरहेको छ । बहुपदमा जाने र पदाधिकारीको संख्या ११–१५ सदस्यीय हुनसक्ने उनले बताए ।

माओवादीले विधान संशोधन गरेर प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएको छ । जस अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन उप–सचिव, एक कोषाध्यक्ष रहेका छन् । अब केन्द्रको पदाधिकारीको पनि विधान संशोधन गर्न लागेको हो ।

हामी विधान संशोधन गर्दैछौं । विधानमा ५ सदस्यीय रहेको छ । हामी बहुपदीयमा जान्छौं । प्रदेशमा ९ सदस्यीय पदाधिकारी रहने व्यवस्था भइसकेकाले केन्द्रमा ११–१५ सदस्यीय हुन सक्छ । त्यो राष्ट्रिय सम्मेलनले तय गर्छ

केन्द्रमा कुन–कुन पद बनाइने भन्ने पनि तय भइसकेको छैन । प्रदेशको व्यवस्थामा महासचिव थपिने र अरु पदमा पदाधिकारीको संख्या बढ्न सक्ने नेताहरु बताउँछन् ।

माओवादीमा हाल १७९ केन्द्रीय सदस्य रहेका छन् । विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था माओवादीले गरेको छ । त्यो संख्यामा पनि संशोधन गर्ने माओवादीको तयारी छ । हालको विधानको व्यवस्था परिवर्तन नभए राष्ट्रिय सम्मेलनले २९९ सदस्यीय कमिटी चयन गर्नेछ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा १५०० प्रतिनिधि रहनेछन् । माओवादीले प्रतिनिधिको पनि चयन गरिसकेको छैन ।

 


सम्बन्धित समाचार