Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बत्तिको महसुल धेरै लिनेको घरमा लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्ने डेरावालसँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।

विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन् ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल अब बढी महसुल लिएको प्रमाणसहितको उजुरी आए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने बताउँछन् । ‘एकैपटक काट्छौं भनेका हैनौं,’ उनी भन्छन्, ‘बढी महसुल लिएको जानकारी भएमा सचेत गराउँछौं, तर अटेरी भएमा लाइन काट्न पनि सक्छौं ।’

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् ।

जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि ग्राहकले औपचारिक रुपमा गुनासो गर्ने व्यवस्था नै थिएन । प्राधिकरणले पनि ठगी मुद्धामा रुपमा प्रहरीले मात्रै यसलाई हेर्न सक्ने बताउने गरेको थियो ।

अन्यायपूर्वक विद्युत महसुल बढी लिइरहँदा पनि ग्राहकलाई चुप बस्नु परेपछि प्राधिकरणले भाडामा बस्नेले पनि छुट्टै मिटर लिनसक्ने र घरबेटीलाई कारवाही गर्ने व्यवस्था एकसाथ गरेको छ ।

सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा महसुल भाडावालासँग महसुल लिन्छन् । तर, त्यसो गर्दा अधिकांशले १५ रुपैयाँ प्रतियुनिट भन्दा बढीले हिसाब गर्ने गरेका छन् । प्रष्ट हिसाव नहुँदा डेरावालहरुले ठगिएको गुनासो गर्ने गरेका छन् ।

घरेबेटीहरुले डेरावालसँग चर्को विद्युत महसुल उठाउने प्रवृत्ति र यसबारेको गुनासो काठमाडौंमा मात्र नभएर देशभर नै रहेको छ । कतिपय घरेबटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन् । त्यसैले घरबेटीले जति माग्यो उति दिनुपर्ने बाध्यतामा धेरै डेरावालहरु छन् ।

वितरण सेवका प्रमुख सिलवालका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानूनी हो । ‘कानूनी र मानवीय दुबै हिसावले आफूले प्राधिकरणलाई तिर्नुपर्नेभन्दा बढी महसुल डेरामा बस्नेसँग उठाउनु हुँदैन,’ उनी भन्छन्, ‘कोही पनि नठगिउन् भनेर यस्तो व्यवस्था गरेका हौं ।’


सम्बन्धित समाचार