Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । अग्ला भूभागहरुमा हिउँ पनि परेको छ । त्यसैले आज हिजोको तुलनामा अत्याधिक चिसो बढेको छ ।
गएरातिदेखि नै परिरहेको पानी र जाडोले मानिसहरुको दैनिकी नै प्रभावित बनाएको छ । अति आवश्यक काम परेर घर बाहिर निस्किनैपर्नेहरु पनि पानीबाट प्रभावित भए । चिसो बढेपछि मानिसहरु आगो तापेर न्यानो हुने कोसिसमा छन् ।
पानी परेर चिसो बढेपछि काठमाडौं उपत्यकाका कतिपय विद्यालयहरुले आकस्मिक सूचना जारी गरी विद्यालय बन्द गराएका छन् । अनामनगरस्थित सिटी मन्टेश्वरी स्कूलले बुधबार र बिहीबार दुई दिनका लागि विद्यालय बन्द गरेको सूचना प्रकाशित गरेको छ ।
काठमाडौं उपत्यका केही विद्यालयहरु भने खुल्लै छन् । विद्यार्थीहरु छाता र रेनकोट ओढेर विद्यालय पुगेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै बादल लाग्ने छ । ‘पानी पर्ने र रोकिने क्रम आज दिनभर नै जारी रहन्छ,’ महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन् । बिहीबारबाट भने सुदूरपश्चिमबाट मौसम खुल्दै जाने महाशाखाको पूर्वानुमान छ ।
गत २४ घण्टामा सबैभन्दा बढी पानी लम्जुङमा ३९।८ मिलिमिटर पानी परेको छ । गोरखाको बारपाकमा ३९।६ मिलिमिटर पानी परेको रेकर्ड छ । यसैगरी चितवनमा ३४, मनाङमा २७।५ र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०।७ मिलिमिटर पानी परेको रेकर्ड रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी म्यानुअल नभई अटोमेटिक रेकर्ड भएका तथ्यांक हुन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल