Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहको स्वकीय सचिव रमेश मल्लले बताए । सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालको सचिवालयले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु । त्यस्तै दाहालका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवोध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ ।
केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो । कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेका थिए । माओवादी केन्द्रले भर्खरै काठमाडौंमा ८औं महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आएका थिए ।