Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कम्युनिस्ट पार्टी नेकपा विभाजित गराउने माध्यम बनेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नै विभाजनतिर गएको छ । पार्टीभित्र दुई लाइन संघर्ष चर्किएसँगै पार्टीमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्नेदेखि अध्यक्ष ऋषि कट्टेललाई नै पार्टीबाट हटाउनेसम्मको निर्णय भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासनको घोषणा गरेपछि पार्टी फुटतिर गएको हो ।
सुवेदीले माघ ५ गतेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार जाँचबुझ समिति गठन गरेर माघ ७ गते कट्टेललाई स्पष्टीकरण सोधेका थिए । तर, कुनै जवाफ प्राप्त नभएको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको सुवेदीले बताएका छन् । ‘दलको अहितमा काम गरेको बारेमा केन्द्रीय समितिले मिति २०७८ माघ ५ गते गरेको निर्णयअनुसार जाँचबुझ समिति गठन गरी उक्त समितिको निर्णयअनुसार माघ ७ मा स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नदिनु भएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ का दफा १८, नेपाल कम्युनिस्ट पार्टीको विधान २०६९ को धारा १७।११ बमोजिम दलको साधारण सदस्य समेत सम्पूर्ण पद र जिम्मेवारीबाट निष्कासन गरिएको जानकारी गराइन्छ’, कट्टेललाई सुवेदीले पठाएको बर्खास्ती पत्रमा उल्लेख छ । जसको बोधार्थ निर्वाचन आयोगसमेतलाई दिइएको छ । सुवेदीले स्पष्टीकरण सोधेको एक साता अर्थात् माघ १३ गते कट्टेललाई बर्खास्त गरेको घोषणा गरेका हुन्
यता कट्टेलले भने कारबाही अस्वीकार गर्दै पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाही गर्न उल्टै अर्को समिति बनाएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कट्टेलले पार्टीको एकताको राष्ट्रिय सम्मेलन गत पुस १७ देखि १९सम्म जनकपुरमा सम्पन्न गरिएको र जनक्रान्तिको स्पष्ट नीति तथा कार्यक्रम अनुमोदन गरिएको पनि जानकारी दिएका छन् । ‘नेपाल कम्युनिस्ट पार्टीको एकताको राष्ट्रिय सम्मेलन यही पुस १७–१९ मा जनकपुरमा सम्पन्न भएको छ । यसले क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरौँ, संसद्वाद र विसर्जनवादलाई परास्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न संयुक्त जनसंघर्षको विकास गरौँ भन्ने मूल नारा पास गर्दै नेपाली जनक्रान्तिको स्पष्ट नीति तथा कार्यक्रम अनुमोदन गरेको छ’, कट्टेलको तर्फबाट कार्यालय सचिव रत्नप्रसाद जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय सम्मेलनले विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै आफूलाई अध्यक्ष र लोकनारायण सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरेको पनि कट्टेलले विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचित केन्द्रीय समितिको अद्यावधिक सूची निर्वाचन आयोगमा पठाइसकिएको उनको भनाइ छ ।
यो बीचमा शरण विक्रम मल्ल र महेन्द्र जोशीले पूर्व समूह चलाउँदै गुटबन्दी गरेको आरोप कट्टेल समूहले लगाएको छ । यस्तै आर्थिक अपचलन गरेको तथा विधान पद्धतिको गम्भीर उल्लङ्घन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । यसबारे छानबिन गर्न राजेश बान्तवा प्रमुख रहेको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको बताउँदै जोशीले भनेका छन्, ‘जाँचबुझ आयोगले आफ्नो काम सुरु गर्नासाथ उसका मतियारहरू पार्टी नेतृत्व र पार्टीविरुद्ध हुने किर्ते र अनधिकृत निकृष्ट कार्य गर्दै सामाजिक सञ्जालमा देखिएकाले पार्टीको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ ।’ कोरोना सङ्क्रमण कम हुनासाथ केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय लिइने कट्टेल समूहले जनाएको छ ।
सुवेदी समूहले केही महिना अघिदेखि विभिन्न प्रदेशहरूमा समानान्तर कमिटी विस्तार गर्दै आएको थियो । त्यसक्रममा अन्य पार्टीबाट आएका समेतलाई पार्टीमा राखिएको थियो । त्यसपछि सुवेदी समूहले एकता महाधिवेशनको तयारी गर्दै गर्दा कट्टेलले एकाएक जनकपुरमा महाधिवेशन सम्पन्न गरेको घोषणा गरेका थिए । त्यही विवाद अहिले विभाजनको सम्मुखमा पुगेको बताइएको छ। यस विषयमा रातोपाटीले सुवेदीसँग प्रतिक्रिया लिन खोज्दा व्यस्त रहेको भन्दै कुरा गर्न चाहेनन् । यता कट्टेलले भने फोनको कुनै ‘रेस्पोन्स’ समेत गरेनन्
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेर २०७५ जेठ ३ गते नेकपा बनेको थियो । त्यही नाम निर्वाचन आयोगमा दर्ता भएपछि ऋषि कट्टेलले सो दलको नाम आफ्नोसँग मिलेको भन्दै सुरुमा निर्वाचन आयोगमा निवेदन दिए । तर निर्वाचन आयोगले कट्टेलको पक्षमा निर्णय नदिएपछि उनी सर्वोच्च पुगेका थिए । सर्वोच्चमा पटक पटक पेशी सर्दै गएको सो मुद्दामा २०७७ फागुन २३ मा सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको थियो । सो फैसलापछि नेकपा फुटेर एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । सर्वोच्चको फैसला यस्तो बेला आएको थियो जतिबेला तत्कालीन सत्तारुढ दल नेकपामा चर्को अन्तर्विरोध रहेको थियो ।
कट्टेलकै मुद्दापछि राजनीतिमा तीव्र उथलपुथल भयो । शक्तिशाली नेकपा विभाजन पछि एमाले पनि विभाजित भए । अहिले आएर उनै नेकपा विभाजनको एउटा माध्यम बनेको कट्टेलको पार्टी पनि अन्तर्विरोध हुँदै विभाजनतिर गएको हो
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल