Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बस्नेतले जंगबहादुर च्याप्दा शेखरले वंशलाल उचाले

काठमाडौं । पार्टीको चौधौं महाधिवेशनको समयमा आन्तरिक विवादका कारण रोकिएका जिल्ला कार्य समितिहरुको निर्वाचन फागुन १५ गतेलाई तोकेपछि काँग्रेसका नेताहरु आफ्नो गुटको तर्फबाट नेतृत्वमा ल्याउने उम्मेदवारहरुको मोलतोल गर्न शुरु गरेका छन् । शक्तिशाली नेताहरुको प्रतिस्पर्धाले जिल्ला कार्य समितिहरुमा आउने नेताहरुले आन्तरिक दौडधूप गर्नुपर्ने बाध्यता खडा गरिएको छ । राजधानी नजिकैको सिन्धुपाल्चोक जिल्लामा पञ्चायतकालका डनहरु पशुपतिसमशेर जबरा र नेत्रविक्रम थापाको आन्तरिक लडाइँमा गोली चल्दा मृत्यु भएका हर्कलाल लामाका पुत्र जंगबहादुर लामा नेपाली काँग्रेसको जिल्ला सभापति उम्मेदवार बन्ने बलियो सम्भावना रहेको छ । हगाम गाउँपञ्चायतका प्रधानपञ्च हर्कलाल पञ्चहरुको लडाइँमा गोली लागेर ज्यान गुमाउने गाउँ पञ्चायतका प्रधानपञ्च हुन् । उनका पुत्र जंगबहादुर लामा यतिखेर केन्द्रीय सदस्य मोहन बस्नेतको कृपामा सभापतिको दाबी गरिरहेका छन् । जुगल गाउँपालिकाभित्र पर्ने हगाम गाउँपञ्चायतमा लामाहरुको बाहुल्यता रहे पनि सिंगो जिल्लामा नेता मोहन बस्नेतले जसलाई अगाडि सार्छन् जित्ने त्यसैले हो भन्नेहरु धेरै छन् । केन्द्रीय राजनीतिमा बस्नेतसँगै माओवादीका अग्नि सापकोटा, एमालेका शेरबहादुर तामाङ, एकीकृत समाजवादीका सुभाष कर्माचार्यहरुको आफ्नो जिल्ला पार्टी नेतृत्व चयनमा चासो हुनुको कारण खासासँग जोडिएको व्यापार हो । काँग्रेसमा अमेरिकको ग्रिनकार्ड त्यागेर इन्द्रावती गाउँपालिकाको अध्यक्ष भएका वंशलाल तामाङ हुन् वा त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेश छाडेर काँग्रेसको राजनीतिमा लागेका प्रेमध्वज लामा नै किन नहुन् यस पटक जिल्ला सभापतिको निम्ति भिडेरै छाड्ने तयारी गरिरहेका छन् । बस्नेतले फागुन १३ गते उम्मेदवारको टुंगो लगाउने बताइएको छ भने उनीसँग सम्बन्ध बिग्रिएकाले प्रेमध्वजले साथ कसको पाउने भन्ने निश्चित छैन । जंगबहादुरलाई उचाल्नेहरुले वंशलाल डा. शेखर कोइरालाको टिमसँग जोडिँदा गतिलै प्रस्पिर्धा हुने अनुमान गरेका छन् । सिन्धुपाल्चोकमा तातोपानी नाकासँग जोडिएको व्यापारका कारण ठूला तथा साना व्यापारीहरु दलगत संरक्षणमा रमाउन चाहन्छन् । काँग्रेसका मोहन बस्नेतलाई सदावहार तिनै व्यापारीहरुले साथ दिँदै आएकाले जिल्लामा आइपर्ने जुनसुकै भैपरी समस्यामा पनि उनको सक्रियता बढि देखिन्छ । कोरोना महामारी, बाढी पीडित र भूकम्पका समयमा बस्नेतले आफ्नो टिमलाई पीडितहरुको पक्षमा क्रियाशील गराएको कारणले पनि खासाको व्यापारलाई बेलाबखत मलजल दिएकै छ । अहिले नेपाल र चीनको बाणिज्य व्यापार ठप्प छ । चिनियाँ सामानहरु खासाबाट भित्रिएका छैनन् । तर पोके र गुण्टेहरुको व्यापार भने मितेरी पुलबाट सहजै चलिरहेको छ । चिनियाँ पक्षले आफ्नो तिर चासो दिए पनि मितेरी पुल कटेपछि कसले कहाँ कोसँग सम्बन्ध राख्छ र धन्दा चलाउँछ चासो लिँदैन । खासाबाट आउने सामानको भन्सार छल्ने र राजश्व मार्ने धन्दासँग जोडिएका व्यापारीहरु पार्टीका जिल्ला निर्वाचनहरुमा समूहगत रुपमा उपस्थिति हुने गर्दछन् । प्रेमध्वज लामा, वंशलाल तामाङ, जंगबहादुर लामाको अवस्था काँग्रेसका मतदाताहरुले फागुन १५ गते मूल्यांकन गर्ने कुरा जिल्लामा चर्चा छ । तर भिडन्त बस्नेत र शेखर कोइरालाको समूहबीच हुने निश्चित छ ।