Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेलाई खुशी पार्न सभामुख हटाउने तयारी

काठमाडौं। सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी पारित गराउने विषयमा मत नमिलेपछि नेपाली कांग्रेसले एमालेको माग पूरा गरेरै भए पनि सो प्रस्ताव पारित गराउने प्रयास थालेको छ। यसबारे बुधबार राति अवेरसम्म नेपाली कांग्रेसका नेताहरु र एमालेका नेताहरुका नेताहरुबीच विभिन्न तह र चरणमा भेटवार्ताहरु भएका थिए। जसअनुसार, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पदअनुकूल आचरण नगरेको सम्बन्धी प्रस्ताव दर्ताका लागि कांग्रेस र एमालेले तयारी गरेका छन्।
स्रोतकाअनुसार, आज विहान ११ बजेसम्म सत्तारुढ गठबन्धनमा एमसीसी पारित गराउनेबारे सहमति नजुटेको अवस्थामा सभामुखलाई पदबाट हटाएर भए पनि एमालेको समर्थन लिएर एमसीसी पारित गराउने निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन्।

उनले यससम्बन्धी जानकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिइसकेका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बुधबार यसबारे सार्वजानिकरुपमा संकेत गरेका थिए।

उनले सत्ता गठबन्धनका दलहरु एमसीसी पारित गर्न तयार नभए विपक्षी एमालेका माग पूरा गरेरै भए पनि एमसीसी पारित गराउने अवस्था आउनसक्ने बताएका थिए।
स्रोतकाअनुसार, नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीसहित सबै सांसदहरुको हस्ताक्षरसहितको एउटा ड्राफ्टको तयारी भएको छ र त्यसमा सभामुखविरुद्ध पदीय आचरणविपरीतको काम गरेको आरोप लगाइएको छ। यदि प्रचण्ड र माधव नेपालले एमसीसी पारित गराउन नसघाउने तय भयो भने यो प्रस्तावमा एमालेका सांसदहरुको समेत हस्ताक्षर थप गरेर दर्ता गर्ने तयारी पनि गरिएको छ।

नेपाली कांग्रेसले आजकै संसदको बैठकका लागि आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेको सन्दर्भलाई हेर्दा कांग्रेस कतै आजै एमसीसी पारित गराउने तयारीमा त छैनरु भन्ने प्रश्न पनि उठेको छ। छलफलमै मात्र लैजाने हो भने त्यसका लागि ह्वीपको जरुरी थिएन। संसदबाट एमसीसी पारित नहुँदा सडकमा विरोध चर्किँदै जाने भन्दै कांग्रेसभित्र एमसीसी पारित भएपछि विरोध आफैं मथ्थर हुने मत बलियो बनेको छ।

सभामुखविरुद्ध यस्तो प्रस्ताव दर्ता भए कार्यव्यबस्था परामर्श समितिको बैठक अगावै उनी निलम्बनमा पर्ने र जेष्ठ सदस्यको हैसियतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदको बैठक संचालन गर्ने छन्।

बिहीबार राति बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको छलफलमा पनि सभामुखको विकल्प खोज्ने विषयमा छलफल भएको थियो। कांग्रेसले सभामुख हटाउने लगायतका सबै विकल्पमा छलफल गर्न सकिने जवाफ दिएपछि सभामुखको विकल्प खोज्न दुई दल सहमत भएका हुन्।

उनले आजै नै एमसीसी पेश गरी छलफलसमेत गराएर आजै पारित गर्ने कार्यक्रम तय हुनसक्ने नेपाली कांग्रेसका एक नेताले बताए। तर, यो सबै कुरा प्रचण्डको हातमा छ उनले भने, यदि एमसीसी पारित गराउन नसक्ने हो भने उहाँहरुले सभामुख र सरकार दुबै गुमाउनु पर्ने छ।

संख्या गन्तीका हिसावले उपेन्द्र यादवले समर्थन नगरेसम्म सभामुखविरुद्धको सो प्रस्ताव पारित हुने सम्भावना तत्काललाई छैन। सो प्रस्ताव पारित नहुने अवस्था अए प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणासमेत गर्न सक्ने गरी कांग्रेसभित्र छलफल चलाइएको छ।