Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्प मर्ने, लठ्ठी नभाँचिने उपायको खोजी

काठमाडौँ । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने उपायको खोजीमा सत्ता गठबन्धन रहेको छ । एमसीसी सम्झौता र सत्ता गठबन्धन बचाउन सत्ता साझेदार फेरि संयमित छलफलमा जुटेका छन् । माओवादी र एकीकृत समाजवादीको सरोकार सम्बोधन गर्न सम्झौताको व्याख्यात्मक घोषणा संसद्बाट पारित गर्न कांग्रेस सकारात्मक भएको छ । कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच पनि समानान्तर वार्ता भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा वार्ता गरेपछि दबाबमा परेका माओवादी र एकीकृत समाजवादीले आन्तरिक बैठकमा गठबन्धन भत्किँदा आइपर्ने चुनौती र त्यसले आगामी निर्वाचनमा पार्ने असरबारे विमर्श गरेका थिए । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मध्यमार्गी विकल्पमा एमसीसी टुंग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निर्णय लिएका छन् । समाजवादीका महासचिव बेदुराम भुसालले यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने तर परिमार्जनका लागि विभिन्न विकल्पमा छलफल भएको बताए । तर निष्कर्षमा पुग्न बाँकी रहे पनि एमसीसीकै कारण गठबन्धन नटुट्ने दाबी उनको छ । वार्तामा सहभागी नेताहरूका अनुसार अहिले दुई विकल्पमा छलफल भइरहेको छ । व्याख्यात्मक घोषणाका विषयमा सकारात्मक छलफल भएपछि शुक्रबार देउवा र दाहालले अधिवक्ता गोविन्द बन्दीसँग कानुनी परामर्श गरेको स्रोतको भनाइ छ । सम्झौताबारे नेपालमा उठेका प्रश्न समेटेर अर्थ मन्त्रालयले गत सेप्टेम्बर २१ मा पत्र लेखेपछि एमसीसीले जवाफ पनि पठाएको थियो । एमसीसीले पत्रमार्फत स्पष्ट पारेकै विषयवस्तुलाई समेटेको प्रस्ताव संसद्बाट अनुमोदन गर्दा एमसीसीका लागि स्वतः स्वीकार्य हुने बुझाइ गठबन्धनको छ । गठबन्धन र एमाले दुवैतर्फको वार्ता निष्कर्षमा नपुगेकाले प्रधानमन्त्री देउवाले दुई दिन संसद् बैठक सारेर नेताहरूबीच निर्णायक संवाद अगाडि बढाएका छन् । बिहीबार जस्तै शुक्रबारको संसद् बैठक पनि प्रधानमन्त्री देउवाकै चाहनामा स्थगित भएको छ । लचकता अपनाउने र गठबन्धन बचाउने प्रयास अहिलेसम्म निष्कर्षमा पुग्न भने सकेको छैन ।
माओवादी अध्यक्ष दाहालले शुक्रबार बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बोलाएका थिए । नेता हरिबोल गजुरेलका अनुसार सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि परिमार्जन वा अन्य विकल्प खोज्ने र गठबन्धन कायम राख्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ ।
शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए । बालुवाटारबाट फर्केपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपालले मध्यमार्ग बाटोबारे नेताहरूसँग छलफल गरेका थिए । सिंहदरबारमा नै दाहाल र नेपालबीच पनि छलफल भएको थियो । उता, कांग्रेस र एमालेबीच बिहीबार र शुक्रबार लगातार वार्ता भए पनि टुंगो हुन नसकेको नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार