Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज संसद बैठक, अर्थमन्त्रीको भागमा एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएको छ । संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो । संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।
हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक९एक सांसद छन् । सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ । तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।