Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेनी डिजिटल हमलाका कारण हतियार बोक्ने रुसी रेल अवरुद्ध हुँदै

काठमाडौं । युक्रेनियन साइबर गुरिला वारफेयर समूहले रुसका प्रमुख संरचनाविरुद्ध डिजिटल हमला गरिरहेका छन् ।

युक्रेनियन साइबर गुरिलाद्वारा गरेको डिजिटल हमलाका कारण रुसी रेलवे प्रणालीदेखि विद्युतीय पावर ग्रिडसम्म अवरुद्ध हुने ह्याकर समूहले सञ्चार एजेन्सी रोयटर्सलाई बताएको छ ।

गत हप्ता मात्र युक्रेनी रक्षा मन्त्रालयले व्यवसायी तथा स्थानीय साइबर सुरक्षाविज्ञ येगोर असेभलाई रुसी हमलाको प्रतिरक्षाका लागि ह्याकरहरूको विशेष युनिट निर्माणमा मद्दत गर्न भनेको थियो ।

असेभका अनुसार उनीहरू सोमबारदेखि रुसी सेनाले युक्रेनभित्र हतियार ल्याउन मद्दत गर्ने संरचना ह्याक गरी अवरुद्ध गर्नमा जुटिरहेका छन् ।

रोयटर्ससँग उनले भने, “हामी युद्ध रोक्नका लागि जे गर्न पनि तयार छौँ । हाम्रो लक्ष्य उनीहरूलाई युक्रेनभित्र थप हतियार ल्याउन असम्भव पार्नु हो ।”

असेभका अनुसार उनको समूहले अहिले रुस सरकार र बैंकिङ क्षेत्रका दर्जनौँ वेभसाइट डाउन पारिसकेको छ । उनीहरूले युद्धका हिंसात्मक तस्बिर राखेर वेभसाइट अवरुद्ध गर्ने गरेका छन् ।

रुसले आफ्नो समूहलाई ट्र्याक गर्ने खतरा भएकाले पनि विस्तृतमा जानकारी दिन नमिल्ने बताए । असेभका अनुसार उनको ह्याकिङ समूहमा एक हजार युक्रेनियन र केही विदेशी स्वयंसेवक सहभागी छन् ।

उनीहरूले रेलवे सेवा प्रणाली ह्याक गर्न विदेशी साइबरविद् संगठनसँग सहकार्य गरिसकेको बताइएको छ । रुसले बेलारुसका रेलवे हुँदै युक्रेनमा हतियार ल्याइरहेको पत्ता लागेपछि यसअघि बेलारुसकै साइबर पार्टिसनले पनि उक्त रेलवे प्रणाली अवरुद्ध गर्न सघाएको थियो ।

ब्लुमबर्ग न्युजले गरेको एक रिपोर्टमा साइबर पार्टिसन्सले रेलवे ट्राफिक प्रणालीलाई बन्द गरेको उल्लेख छ ।

सोमबार साइबर पार्टिसन्सकी प्रवक्ताले रोयटर्ससँगको कुराकानीका क्रममा उक्त हमला पुष्टि गरेकी छन् । तर, उनले असेभको समूहसँग सहकार्य गरेर काम गरिरहेको भने बताइन् ।

उनले भनेकी छन्, “हामी पूर्ण रूपमा युक्रेनको साथमा छौँ । उनीहरू आफ्नो मात्र नभएर हाम्रो स्वतन्त्रताको लडाइ पनि लडिरहेका छन् । युक्रेन स्वतन्त्र नभएसम्म बेलारुसमा पनि केही सम्भव हुनेछैन ।”

मंगलबार मात्र रुसी विदेश मन्त्रालयकी प्रवक्ताल रुसी दूतावासहरूको वेबसाइटमा ‘युक्रेनका आतङ्ककारी’ ले हमला गरेको आरोप लगाएकी थिइन् । यसरी संरचना ह्याक गर्नेबाहेक असेभको टोलीले युक्रेनी सेनालाई ‘अन्डरकभर’ रुसी सैन्य युनिट पत्ता लगाउन पनि मद्दत गरिरहेको बताए ।

उनको समूहले सेलफोन ट्र्याक गर्ने एउटा अनौठो प्रविधि पत्ता लगाएको छ । जसमार्फत देशभर लुकेर हिँडडुल गरिरहेका रुसी सैनिक फेला पार्न सकिन्छ । उनका अनुसार रुसी सेनाहरूले युक्रेनमा रहँदा सञ्चार सेवाका लागि साधारण व्यावसायिक मोबाइल फोन नै प्रयोग गरिरहेका छन् ।

गत हप्ता विभिन्न रुसी सरकारका वेबसाइट अवरुद्ध भए । सो क्रममा राष्ट्रपति भ्लादमिर पुटिनको अफिसको प्रणाली पनि ह्याक भएको थियो ।

रुसले युक्रेनमा जारी हमलालाई ‘विशेष सैन्य अपरेसन’ को नाम दिइ युद्ध जारी राखिरहेको छ ।