Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता कता खोजे देउवाले तालमेल

काठमाडौँ । पार्टीका नेताहरु चुनावी गठबन्धनको विपक्षमा देखिए पनि पार्टी सभापति शेरबहादुर देउवा तीनै तहको चुनावमा तालमेल गर्ने योजना माछन् । पार्टीभित्र प्रतिस्पर्धी समूहले फरक विचार राखिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल गर्न गृहकार्य अघि बढाएका छन् । देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग महानगर र उपमहानगरमा तालमेल गर्न अनौपचारिक संवाद गरिरहेका छन् । पार्टीभित्र तालमेलका लागि वातावरण बनाउन उनले आफ्ना निकट नेतासँग निरन्तर सल्लाह गरिरहेका छन् । देउवाले दाहाल र नेपालसँग भएको छलफलमा आगामी केन्द्रीय कार्यसमिति बैठकबाट तालमेलबारे निर्णय लिने बताइसकेका छन् । देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत धारणा बनाएपछि आफ्नो योजनाअनुसार तालमेलको निर्णय लिने तयारी गरेको निकट एक नेताले बताए । गठबन्धनकै विषयमा पार्टीको संस्थागत धारणा बनाउन उनले आगामी शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाइसकेका छन् । फरक विचार राख्ने समूहको असहमति रहे पनि केन्द्रीय कार्यसमितिमा अत्यधिक बहुमत भएकाले आफूअनुकूल निर्णय गराउन उनलाई असहज छैन । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तालमेलको पक्षमा उनीसँगै उभिएका छन् । नेता रमेश लेखकले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले गठबन्धन दलबीच तालमेल गर्नेरनगर्ने, केन्द्रबाट कहाँ, कति गर्नेजस्ता सवालमा निर्णय लिने बताए । यतिबेला कांग्रेस नेताहरू फागुन २९ बाट सुरु भएको एक महिने चुनावी अभियानका क्रममा जिल्ला–जिल्लामा छन् । तल्ला तहका कार्यकर्ताको राय–सुझाव बोकेर आउने केन्द्रीय प्रतिनिधिको प्रारम्भिक समीक्षा सुनेपछि देउवाले केन्द्रीय कार्यसमितिबाट तालमेलको पक्षमा सैद्धान्तिक निर्णय गराउने योजना बनाएको निकट नेताहरूले बताए । सल्यानमा रहेका पार्टी प्रवक्ता प्रकाशरण महतले केन्द्रीय कार्यसमितिबाट सैद्धान्तिक निर्णय लिएपछि मात्रै तालमेलको प्रस्ट दृश्य आउने बताए । तल्ला तहमा पार्टी संगठनको अवस्था र गठबन्धनको आवश्यकता मूल्यांकन गरेर तालमेल हुन सक्ने उनको भनाइ छ । गठबन्धनका प्रमुख तीन नेता देउवा, दाहाल र नेपालबीच भइरहेका छलफल एमालेले यसअघि जितेका स्थानमा कसरी भागबन्डा मिलाउने भन्नेमा मुख्य छलफल केन्द्रित गरेका छन् । एमालेले जितेका स्थान आफ्नो पार्टीलाई दिन नेपालले प्रस्ताव राखेका छन् तर कांग्रेस र माओवादी मानेका छैनन् । नेता कोइरालाले पार्टी पंक्ति गठबन्धनको पक्षमा नभएकाले पार्टीले सचेततापूर्वक निर्णय गर्नुपर्ने बताए । उनको बुझाइमा कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले एक–अर्कालाई मत हाल्ने सम्भावना कम छ । कांग्रेस नेता मीनेन्द्र रिजालले स्थानीय आवश्यकताले मात्रै तालमेल गर्न सम्भव हुने बताए । केन्द्रमा नेताहरू मिल्न सहज भए पनि तल्ला तहमा कार्यकर्ता र मतदाता मिलाउन कठिनाइ हुने भएकाले केन्द्रबाटै अंशबन्डा गर्ने काम व्यावहारिक नहुने उनको भनाइ छ । त्यतिबेला देउवाले ठूलो आलोचना खेपेर दाहालपुत्री रेणुलाई जिताउन लागिपरे पनि संघको निर्वाचनमा माओवादी वाम गठबन्धन गर्न पुगेको भन्दै रिजालले यस पटक पनि त्यस्तै अवस्था नहोला भन्न नसकिने बताए । कांग्रेसले आफ्नो बुई चढाएर निर्वाचनमा लगे पनि सोचेजस्तो परिणाम नआउने रिजालको दाबी छ । स्थानीय निर्वाचनमा माओवादी र एकीकृत समाजवादीलाई बिच्काएर प्रदेश र संघमा गठबन्धन बन्न नदिने र देउवालाई अर्को पटक प्रधानमन्त्री बन्न छेक्ने रणनीतिअनुसार कोइराला समूह तालमेलको विरोधमा लागेको बुझाइ संस्थापन पक्षको छ ।