Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डीआईजीका पछाडि छोडियो सुराकी

काठमाडौं । बढुवा समितिले गरेको एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी दिने डीआईजीका पछाडि सुराकी परिचालन गरेको पाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट प्रहरी निरीक्षकसहितको टोली आफूहरुको पछाडि खटाइएको एकजना डीआईजीले बताए। ‘हामीले उजुरी गर्ने कुरादेखि नै हाम्रो पछाडि सुराकी लगाएका थिए। अहिले पनि हामी कहाँ(कहाँ जान्छौं, कसलाई भेट्छौँ भनेर निगरानी गरिरहेका छन्’, ती डीआईजीले भने। हालै थप गरिएको तीन एआईजीको दरबन्दीमा आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै तीन डीआईजीले उजुरी सुनुवाइ समितिमा आइतबार निवेदन दिएका छन्।
डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी दिएका हुन्। गृहसचिव नेतृत्वको बढुवा समितिले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। तर ७ दिन भित्रमा उजुरी गर्न सक्ने व्यवस्था अनुसार उजुरी परेपछि उजुरी छानबिनपछि मात्रै बढुवाको टुंगो लाग्ने भएको छ।
यसअघि जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा पनि नवराज सिलवालले मुद्दा हालेका थिए। त्यतिबेला पनि सिलवालले आफ्नो निगरानीमा सुराकी परिचालन गरेको गुनासो गरेका थिए। पहिले पनि त्यस्तै घटना दोहोरिएको हो। उजुरी गर्ने कुरा गर्दादेखि नै आफूहरुको पछाडी सुराकी लगाइएको ती डीआईजीले बताए।
‘उसलाई कसैले प्रयोग गरेको हुनुपर्छ। यो विषयमा सम्बन्धित ठाउँमा पनि कुरा गर्छौं’, उनले भने। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा हुने उजुरी सुनुवाइ समितिमा मुख्य सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहन्छन्। समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय, प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा पठाउने छ।
गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल सदस्य र आईजीपी शैलेश थापा क्षेत्री सदस्य सचिव छन्। समितिले तीन दिनभित्रमा आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितिमा पठाउनु पर्नेछ।
वरीयतामा आफूभन्दा पछाडि रहेका डीआईजीहरूलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै उनीहरुले उजुरी गरेका हुन्। एकसाथ डीआईजी भएका १० जनामध्ये सरकारले तेस्रो वरीयताका वसन्तकुमार पन्त, छैटौं वरीयताका धीरजप्रताप सिंह र आठौं वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ। यीमध्ये पन्त मात्रै आईजीपी थापाका ब्याची हुन्।