Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा प्रशिक्षण

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका तथा स्वयंसेवकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल काठमाडौं र संरक्षक समूह नेपालको संयुक्त आयोजना र विश्वास नेपालको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले नेपाल सरकारले महिला हिंसा विरुद्ध चलाउने अभियानबारे जानकारी दिँदै मन्त्रालयको तर्फबाट हुने समन्वय सम्बन्धमा चर्चा गर्नुभयो । लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवाला पक्षसँग समन्वय तथा सहकार्यको साथै आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी महिला तथा बालबालिकाको सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै महिला हिंसा नियन्त्रणका लागि प्रहरीबाट भएका प्रयासबारे चर्चा गर्नुभयो । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय, कलेज र समुदायमा महिला बालबालिका विरुद्ध हुने हिंसाबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभयो । लैङ्गिक हिंसालाई जरैदेखि उखेल्ने आधारभूत स्तम्भ परिवार भएको चर्चा गर्दै उहाँले परिवारले बालबालिकालाई यौन शिक्षा र लैङ्गिक हिंसा सम्बन्धि जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । साथै लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रहरीसँगै परिचालन हुने स्वयंसेवकहरुलाई उहाँले मार्गनिर्देशन समेत गर्नुभयो ।
उक्त कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण बारेमा सरोकारवालाबीच सुझाव आदानप्रदान र यस सम्बन्धमा आइपरेका समस्या तथा चुनौतिबारे खुल्ला छलफल गरिएको थियो ।
उपत्यकामा लैङ्गिक हिंसाको अवस्था र आगामी रणनीतिबारे छलफल गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बिरुद्ध हुने अपराध न्यूनिकरणमा प्रभावकारी सहकार्यको वातावरण सिर्जना गर्ने, २०७६ लाई उक्त मन्त्रालयले महिला हिंसा विरुद्धको अभियान मनाउन लागेको सन्दर्भमा नेपाल प्रहरी र संस्थाको भूमिकालाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नियन्त्रणमा सहजिकरण तथा कानुनी परामर्शको लागि प्रहरी कार्यालयमा रहने गरी ३० जना महिला स्वयंसेवकहरुलाई मार्गदर्शन र अभिमूखीकरण गर्ने तथा ‘सुखी नेपाली समृद्ध नेपाल’ लाई सार्थक बनाउन हातेमालो गर्ने लगायतका उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको दोस्रो सत्रमा संरक्षक समूह नेपालका स्वयंसेवकहरुलाई प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले समुदाय(प्रहरी साझेदारी कार्यक्रमको अवधारणा र प्रहरीको कामको प्रकृतिका विषयमा तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल जिल्ला समिति काठमाडौंकी कोषाध्यक्ष रसना ढकालले लैङ्गिक हिंसा नियन्त्रण बारेमा अभिमूखीकरण प्रदान गर्नुभएको थियो । शनिबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न प्रहरी युनिटहरुमा स्वयंसेवकहरु परिचालन हुने कोषाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी अधिकृतहरु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु एवं प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल