Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोलियम पदार्थमा व्यापारी छिराउँदै सरकार

काठमाडौँ । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनेबारे सरकारले तयारी थालेको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तर्क्रियामा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने आवश्यकता रहेको बताएका हुन् । निजी क्षेत्रलाई आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसाग मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उनको भनाइ छ । मन्त्री बडूले भने, पेट्रोलियम पदार्थको आपूर्तिमा निजी क्षेत्रलाई कसरी सहभागी गराउन सकिन्छ भन्नेबारे सोचिरहेका छौं । एउटा अथोरिटी बनाइदिने हो, उसले रेगुलेट गर्ने हो र निजी क्षेत्रबाट आपूर्तिकर्ता आउँछन् भने एउटा प्रतिस्पर्धा सुरु हुन सक्छ मूल्यमा । त्यो मूल्यको प्रतिस्पर्धाले फाइदा त अन्तमा उपभोक्तालाई होला नि । आयल निगमललाई पनि व्यवस्थित गर्नुपर्ने र प्रतिस्पर्धामा लैजानुपर्ने उनको भनाइ छ । मन्त्री बडूले भने, मन्त्रालयको टिम बसेर त्यसतर्फ काम गर्ने छौँ र नीतिगत रुपमा हामीले निजी क्षेत्रको प्रवेशलाई इन्धनको आपूर्तिमा पनि सहभागी गराउनुपर्ने छ । मन्त्री बडूले निस्क्रिय अवस्थामा रहेका उद्योगहरुलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए ।