Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँचो बायुले एमाले फतक्कै

काठमाडौं । मसान खेलाउनेहरू भन्छन्, काँचो बायुले सतायो भने घर परिवारलाई नै पिर्छ । कतै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कुलभित्र अहिले काँचो बायु प्रवेश भएको त छैन ? प्रश्न उठ्न थालेको छ । जनताले बुझ्दा नेकपा एमालेमा पार्टी भन्दा व्यक्ति केन्द्रीत प्रवृत्ति हावि भएको छ । नवौं महाधिवेशनदेखि अहिलेको अवस्थासम्म एमालेमा सामूहिक निर्णय र नेतृत्वको संकेत देखिएन । पार्टीभित्रका इष्ट देवता र कुल देवतालाई काँचो बायुले घेरेको कारण यस्तो भएको हुन सक्दछ । वायुको रूपमा विचारविहीन दासरूप लठैतहरूको घेरामा रमाएका अध्यक्षले दिएको निर्देशन स्वीकार गर्ने हनुमानहरू एमालेमा धेरै छन् । उनीहरूले अध्यक्षलाई खुशी पार्नका लागि पनि अनेक प्रपञ्च रचेर पार्टीका गलत क्रियाकलापको आलोचना गर्नेविरुद्ध अरिंगालझैं खनिन्छन् । नेकपा एमाले र केपी ओलीको संगठन गर्ने शैली यही हो ।

जहाँ विचार र सिद्धान्तको बहस हुँदैन । सत्तामा पुग्नु पहिलो शर्त हुन्छ । मन्त्री बनेपछि तीन करोडको योजनालाई ५ करोड पु¥याएर कानुन सम्मत भनाउने नीतिगत लुटले पार्टी बदनाम भएको पत्तो हुँदैन । घनश्याम भुसाल जस्ता दर्शन र सिद्धान्तको कुरा गर्ने नेतालाई कृषिमन्त्रालय जस्तो मुलुकको महत्वपूर्ण अंग सुम्पेर केपी ओलीले उनको हुर्मत लिए कि भुसालको ढंग पुगेन ? उनको समयमा पनि किसानले समयमा मल पाएनन्, आफ्नो उत्पादनको भाउ पाएनन्, जुन समस्या अहिले पनि ज्यूदै छ । ओलीबाहेक एमालेभित्र दासहरूको बिगबिगी बढेपछि ईश्वर पोखरेल, शंकर पोखरेल, सुभाष नेम्वाङ, सुुरेन्द्र पाण्डेहरूको हविगत हुन्छ कस्तो ? जहाँ माओवादीलाई सराप्दै मन्त्री पदका निम्ति ओलीको स्तुती गाउने पाँच भाइ भट्याङ्ग्राहरू छटपटिनु पर्ने अवस्था सिर्जना हुँदैछ ।

जे हो त्यसका बारेमा बोलेबापत पूर्व उपमहासचिव घनश्याम भुसालमाथि केशव बडालको अनुशासन आयोग रूपी पिचासहरूको समूहले डस्ने प्रक्रिया शुरु गर्दै मालिक भक्ति प्रदर्शन गरिरहेको छ । अध्यक्ष ओली सबैथोक आफैं बनेर कार्यकर्ताबीचमा लोकप्रिय छैनन् । उनको त्यही अहंकारले स्थानीय निर्वाचनको प्रचारमा जहाँ पुगे त्यहाँ एमाले ध्वस्त भएको प्रमाण निर्वाचन नतिजाले जुटाउँदा घनश्यामहरूमाथि वायु समान आक्रमण गर्नुको औचित्य देखिँदैन । त्यसले कास्कीमा कारबाहीमा परेका खगराजको दासत्व विरोध गर्नेहरूको अवस्था पनि लगभग उस्तै छ । त्यहाँ एमालेको संगठन अवका दिनमा बन्नु भन्दा ओरालो लाग्ने अवस्थामा पुग्दैछ । घनश्याम काण्डबाट १० भाइका विषयमा ओलीका विश्वासपात्रहरू पछि लागे भने पनि नौलो नमाने हुन्छ । त्यसो त घनश्यामाथिको कारबाही सिफारिशप्रति असन्तुष्टि प्रकट गर्दै पार्टी सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले आफ्नो प्रतिक्रिया दिएका छन् ।

अहंकारले पानी बाराबार
एमालेमा केपी ओली र अहंकार बहुदलीय जनवादको अभिन्न अंग बन्दैछ । यिनैले एकीकृत पार्टी फुटाए, केन्द्रदेखि प्रदेश सरकार गुमाए । अहिले ०७४ सालको चुनावमा पहिलो पार्टी भएकाले एमालेलाई क्विन्टल बनाउन दोस्रो दर्जामा पु¥याए । दोस्रो दर्जाको पार्टीले कतिवटा जिल्ला सरकार बनाउला अब राप्रपा नेपाल, परिवारदल, चुरेभावर, नेकपा चन्द, सिके राउतको जनमत पार्टी जस्ता झडकेलाहरूलाई एमालेको ओलीले के गर्लान् ? जबकि उनले हिजो पानी बाराबारको अवस्थामा पु¥याएका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूले केपी ओलीकै कारण नेपालको वामपन्थी आन्दोलन ध्वस्त भयो भन्दैछन् ।

पार्टी पनि फुटाउने, आफ्नै नेतृत्वको सरकार भंग गर्ने, राष्ट्रियसभाको चुनावमा पराजित हुने, स्थानीय चुनावमा क्विन्टल र किलोको धाक दिने, ९ महिनासम्म अवरोध गरेर निउरीमुन्टि लगाउँदै तीन घण्टाको प्रवचनमा आफ्ना कुकर्म छोप्न फन्टुस तर्क हिन प्रस्तुती गर्ने, आन्तरिक असन्तुष्टिलाई चर्काउँदै गुटलाई च्याप्ने, एमालेलाई कारबाही गर्ने मित्र शक्तिमाथि पानी बाराबार गराउने ओलीका नित्यकर्म हुन् । यस्ता कर्मकाण्डी विद्वानलाई एमालेको नाउमा बार्दली नायक बन्न कसैले छेक्दैन । जहाँ भरत पहारी, महेश आचार्य, प्रशान्त अर्याल कारबाहीमा पर्छन् । तर यिनका नेता खगराज अधिकारी कारबाहीमा पर्दैनन् । अधिकारी र पृथ्वी सुब्बाको लडाइँले कास्कीमा नेकपा एमाले ध्वस्त हुँदैछ । जहाँ नेकपा एसको तर्फबाट मेयरमा चुनाव जितेका थिए । पोखरामा पहारी बदनाम पात्र हुन् । जसले होटल उद्घाटन गर्न तत्कालिन प्रम केपी ओलीलाई पु¥याएका थिए । तर त्यो होटल महानगरको स्वीकृतिमा बनेको थिएन । नक्सा पास गरेकै थिएन । एमालेको नगर प्रमुख उपप्रमुख भएको मौका पहारीले छोपेका थिए ।

प्रदेश सांसद पद त्यागेर मेयर पदमा उम्मेदवार बनेकाहरूको हालत पोखरा र काठमाडौंमा एमालेले राम्रैसँग चाखेको छ । त्यो पार्टीमा जसले केपी गुटको आरक्षण पाए तिनले गरेको अन्तरघातको कतै छानविन हुँदैन । टिकट पाएर खोसिएका बहादुर सुनचोरीका हकदार हुँदा ओलीले कार्यबाहक दिन नचाहेका भ्रष्टाचारका सुमेरु उनै ईश्वर पोखरेलले पनि अन्तरघाती संरक्षण गर्न सकेनन् । पोखरेली अन्तर्घातमा ईश्वर नै चर्चामा थिए भने काठमाडौंको विद्रोहमा विद्या सुन्दर शाक्य र रामवीर मानन्धर मात्र होइनन् एमालेका संगठक डा. सुुरेन्द्र मानन्धर नै सक्रिय थिए ।


सम्बन्धित समाचार