Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रसाईको नाटक छताछुल्ल, गृहले भन्यो दुबइबाट ‘भिआइपी’ आएको जानकारी छैन

काठमाडौं । गृह मन्त्रालयले संयुक्त अरब एमिेरेट्स दुबइबाट कुनै ‘भिआइपी’ आएको आफूहरूलाई औपचारिक जानकारी नरहेको बताएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको नेपाल आएकोबारे औपचारिक जानकारी नरहेको गृहले जनाएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले दुबइका राजपरिवारका सदस्य नेपाल आएकोबारे आफूहरूलाई औपचारिक जानकारी नरहेको बताए। आउनुभएको होला, हामीलाई औपचारिक रूपमा कुनै जानकारी छैन, पोखरेलले भने, अफिसियली हामीलाई केही थाहा भएन। पत्रपत्रिकाबाट थाहा पाएका छौं।
आधिकारिक जानकारी नभएकाले माक्तुमको औपचारिक कार्यक्रमबारे समेत आफूहरूलाई कुनै खबर नरहेको उनले बताए। कार्यक्रमबारे औपचारिक रूपमा जानकारी छैन। औपचारिक जानकारी नै नभएपछि उहाँको कार्यक्रमाथि रोक लगाउने कुरा पनि हुँदैन, पोखरेलले भने, गृहले उहाँको कुनै कार्यक्रमाथि रोक लगाउन निर्देशन जारी गरेको छैन।
माक्तुम तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए। त्रिभुवन विमानस्थलमा अवतरण गरेसँगै उनी झापा पुगेका थिए। नेपाल प्रहरीका एक उच्च अधिकारीले पनि दुबइका राजपरिवारका सदस्यको औपचारिक कार्यक्रममाथि रोक नलगाइएको बताएका छन्।
सरकारलाई जानकारी नै नदिइ नेपाल भ्रमणमा आएकाले गृहको तर्फबाट उनको कार्यक्रममा कुनै रोक नलगाइएको ती अधिकारीले बताए। ‘उहाँ नेपाल आएकोबारे आधिकारिक जानकारी दिइएको छैन, व्यक्तिगत भ्रमणमा आउनुभएको छ। व्यक्तिगत भ्रमणमा आएपछि उहाँको के कार्यक्रम हो जानकारी भएन। कार्यक्रमाथि रोक लगाउन कुनै निर्देश पनि भएको छैन, ती अधिकारीले भने।

झापका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबइका राजपरिवारका सदस्य माक्तुमको औपचारिक कार्यक्रममा रोक लगाउन कुनै निर्देशन नभएको बताए। यद्यपि सुरक्षा संवेदनशीलताका लागि पनि कूटनीतिक तवरमा हुनुपर्ने समन्वय नभएको उनले बताए। ‘हाइप्रोफाइलका मान्छे आउँदा कूटनीतिकस्तरमा समन्वय गर्नुपर्ने, नेपाल सरकारलाई औपचारिक रूपमा जानकारी दिनुपर्ने। यी कुराहरू केही पनि भएको छैन। एक प्रकारले भन्दा नेपाल सरकारलाई कुनै जानकारी नै छैन, रिजालले भने, कुन तहको हो त्यो पनि थाहा छैन हामीलाई। युनाइटेड अरब एमिरेट्स दूतावासले ‘रूलिङ फेमिली मेम्बर’ भनेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई भिआइपी रूट प्रयोग गर्न भनेको छ। यो बाहेक औपचारिक जानकारी छैन।
माक्तुमले शनिबार विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए। त्यस्तै आइतबार उनी मस्जिदमा नजाव पाठ गरेका छन्।