Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं फेरि एक हप्ता दुर्गन्धित

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो।
योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो। जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन।

फोहोर बाहिर ननिकाल्न अपिल
काठमाडौं महानगरपालिकाले आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको छ । उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएकाले आउँदो ७ दिन फोहोर बाहिर ननिकाल्न अपिल गरेको हो ।

बुधबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्‍याउन यस्तो निर्णय गरेको हो । बैठकपछि महानगरबासीका नाममा अपिल जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव लोकनाथ पौड्यालले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेका छन् ।