Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कारबाट जोगिन भाग्दै गरेकी युवतीलाई गस्ती प्रहरीले भेटेपछि…

रुपन्देही । कहिलेकाहीं चलचित्रको दृश्य जस्ता घटना पनि समाजमा हुने गर्छन् । एक युवती बलात्कारीको पञ्जाबाट भाग्दै गर्दा गस्ती प्रहरीसँगको जम्काभेटपछि सुरक्षित भएकी छिन् । युवतीलाई ब्ल्याकमेलिङ गरी जबरजस्ती करणी गर्न खोज्ने दुईजनालाई रुपन्देहीको सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीले फेसबुकमा राखेको फोटोको दुरुपयोग गरी बेइज्जत गरिदिने धम्की दिँदै भेट्न बोलाएर जबरजस्ती करणी प्रयास गरेका गैंडहवा गाउँपालिका– ९ का २१ वर्षीय जगन्नाथ मल्लाह र गैंडहवा १ का १७ वर्षीय युवक पक्राउ परेका हुन् । करिब डेढ वर्ष पहिले ती युवतीले आफ्नो मोबाइलमा खिचेका निजी फोटोहरु फेसबुक आईडी चलाउने व्यक्तिले फेला पारेर युवतीको बहिनीलाई पठाएको र त्यसैबाट उनीहरुले डाउनलोड गरी ब्ल्याकमेलिङ गरेको प्रहरीको भनाइ छ । उनीहरुले ती युवतीको फोटो बहिनीलाई पठाउँदै आफूले भनेजस्तो गर्न नमानेमा फेसबुकमा भाइरल गराइदिएर बेइज्जत गरिदिने भन्दै बार्गेनिङ गरेको पीडितको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
इज्जत बचाउने हो भने आफूले भनेजस्तो गर अन्यथा फोटो सार्वजनिक गरिदिन्छु, भन्दै बहिनीलाई धम्कीपूर्ण म्यासेस र फोन गर्न थालेपछि बदनाम हुने डरले ती युवती भेट्न गएको पाइएको मरासिनीले जानकारी दिए । युवाहरुको धम्कीपछि साउन ७ गते साँझ पौने आठबजेतिर सैनामैना नगरपालिकाको कलौनीमा पुगेकी युवतीले उनीहरुलाई भेटी फोटो डिलिट गर्न आग्रह गरेको र उनीहरुले अलि पर गएर डिलिट गरौंला भन्दै कञ्चन गाउँपालिकाको हात्तीबजार पुर्याएको प्रहरीको भनाइ छ । उनीहरुले फोटो डिलिट गरिदिने भन्दै अटोमा हालेर कलौनीदेखि दुई किलोमिटर तल कञ्चन गाउँपालिकाको हात्तीबजारमा लगेर जबरजस्ती करणीको प्रयास गरेको र त्यहाँबाट युवती भाग्दै गर्दा फिल्मी शैलीमा गस्ती प्रहरीले फेला पारेर उद्धार गरेको मरासिनीले बताए ।
युवतीको बयानपछि युवकहरुको खोजीमा लागेको प्रहरीले राति १ बजेतिर सैनामैना नगरपालिका– ७ देउवापारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । कण्डमसहित पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।