Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतबाट हत्यारा मगाएर दाजु–भाउजूको निर्देशनमा भाइ–बुहारीको हत्या

काठमाडौं । बाँकेमा दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा प्रहरीले हत्यामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेपछि हत्याको योजना खुलेको हो । प्रहरीले हत्याको अभियोगमा विजयकुमार गडरियालाई पक्राउ गरेको छ । अनुसन्धानबाट दाजु र भाउजूको निर्देशनमा भारतीय सुटरले भाइ–बुहारीको हत्या गरेको खुलेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
पक्राउ परेका विजयले भाइ–बुहारीको हत्या गर्न भारतीय नागरिकलाई सुपारी दिएको बयान प्रहरीसमक्ष दिएको एसपी अधिकारीले बताए । दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य खुलेको छ, एसपी अधिकारीले भने । आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको उनले बताए । उनले घटनामा चारजनाको संलग्नता देखिएको बताए । श्रीमतीको हत्या गरेपछि कृष्णले प्रतिवाद गर्दा उनको पनि हत्या गरेको हुनुपर्छ, एसपी अधिकारीले पत्रकार सम्मेलनमा भने, बुहारीलाई डोरीले घाँटी कस्नुका साथै मुख थुनेर हत्या गरेको देखिएको छ । भाइलाई हातको नसा काटेर मुख थुनेरै हत्या गरेको अनुसन्धानबाट खुलेको छ । कृष्णको परिवार बस्ने गरेको घरकै माथिल्लो तलामा दाजु–भाउजू बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुबाआमा घरमा नभएको मौका छोपी दाजुले भारतबाट मान्छे बोलाएर मार्न लगाएको बताए । ‘भारतका दुईजना मानिसलाई एक लाख रुपैयाँ दिएर भाइ–बुहारीको हत्या गर्न लगाएको खुलेको छ, मल्लले भने । कृष्ण र अञ्जलीको विवाह एक वर्ष पहिले मात्रै भएको थियो ।