Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीत पछाईको ‘पोर्टल’ सार्वजनिक

काठमाडौं । बाल लेखिका गीत पछाई ढकालद्वारा लिखित उपन्यास ‘पोर्टल’ सार्वजनिक भएको छ । राजधानीमा कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र्रबहादुर कार्की, विशेष अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरी, वरिष्ठ साहित्यकार माया ठाकुरी, पूर्व अर्थमन्त्री एवं बरिष्ठ साहित्यकार शंकरप्रसाद कोइरालालगायतले राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कृतिको विमोचन गरेका हुन् । गीतको उक्त दोस्रो कृति अंग्रेजी भाषामा रहेको छ । कृतिको विमोचन गर्दै प्रमुख अतिथि सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बाललेखिका गीतलाई बधाई तथा शुभकामना दिए । ५ कक्षामा पढ्दै गरेकी एक बालिकाले यति उत्कृष्ट पुस्तक प्रकाशन गरेको भन्दै मन्त्री कार्कीले उनको प्रशंसा गरे । उनले भने, ’उनको यो प्रतिभा निकै सर्हानीय रहेको छ । नेपालमा मात्र नभई विश्वभर उनको प्रतिभाले विशेष स्थान हासील गर्नेछ ।’ गीतको पहिलो किताब अष्ट्रेलियालगायत विश्वका धेरै ठाउँका मानिसले रुचाएका र सो किताब बिक्रीबाट आएको रकम समाज सेवामा लगाइएको सुनेर आफूलाई निकै खुसी लागेको मन्त्री कार्कीले सुनाए । कार्यक्रममा विशेष अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरीले गीतका बाबुआमा र उनको समर्पणले गर्दा सानै उमेरमा उनको पुस्तक प्रकाशन सम्भव भएको बताए । कार्यक्रममा बाललेखिका गीतले आफ्नो लेखनमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले पहिलो किताबमा भन्दा दोस्रोमा अझै राम्रो गर्न प्रयास गरेको बताइन् । आफ्नो उपन्यासलाई पढेर त्यसप्रतिको प्रतिक्रिया दिन गीतले सम्पूर्ण पाठकलाई अनुरोध गरिन् ।


गीतकी आमा जानुका ढकालले छोरीको नाम गीत भए पनि उनी गीतभन्दा धेरै कथा, कविता, उपन्यासलगायतका साहित्यका विधामा अग्रसर रहेकी बताइन् । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त ढकालले सानैदेखि साहित्यीक क्षेत्रमा पाइला सारेकी आफ्नो छोरीको यो यात्रा अगाडि बढ्दै जाओस् भन्ने शुभकामनासमेत दिइन् । त्यसैगरि पूर्व अर्थमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइरालाले गीतलाई शुभकामना दिँदै एक १२ वर्षीया बालिकाले यति सुन्दर पुस्तक सार्वजनिक गरेकोमा खुसी व्यक्त गर्दै उनलाई साहित्यीक क्षेत्रमा अझै अगाडि बढ्न जान आग्रह गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठाकुरीले गीतलाई बधाई दिँदै उनको कृति अँग्रेजीको साथै नेपालीमा पनि भए सबै साहित्यप्रेमीलाई पढ्न सजिलो हुने बताइन् । गीतले ८ वर्षको उमेरमा पहिलो पुस्तक ‘द ट्रेजर हन्ट’ अँग्रेजी कथा संग्रह प्रकाशन गरेर नेपालमा सबैभन्दा कान्छो लेखकका रूपमा आफूलाई परिचित गराएकी थिइन् । पुस्तक ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशित गरेको हो ।