Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यापार घाटा कम गर्ने कार्यायोजना आउँदै, मन्त्री बडुको सक्रियता बढ्यो

काठमाडौं । व्यापार घाटा चुलिँदै गएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्ययोजनासहितको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ । व्यापार घाटा कम गर्नका लागि सरकारले खेल्नुपर्ने भूमिका र कार्ययोजना प्रधानमन्त्री कार्यालयमा पेश गरिएको हो । वि.सं. २०७५ सालमा बनाइएको कार्ययोजनाले प्रभावकारी रुप लिन नसकेको र व्यापार घाटा कम हुन नसकेपछि मन्त्रि दिलेन्द्रप्रसाद बढुको निर्देशनमा मन्त्रालयले उक्त कार्य अघि बढाएको थियो । मन्त्रालयले गत हप्ता उक्त कार्ययोजना स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो ।

मुख्यसचिव शंकरदास बैरागी हाल विदेश भ्रमणमा रहेका कारण उहाँ फर्किए लगत्तै कार्ययोजना स्वीकृतिको प्रक्रिया अगाडि बढ्ने बताइएको छ । उक्त प्रस्ताव स्वीकृत भएर कार्यान्वयनमा आएसँगै व्यापारघाटा कम हुने अपेक्षा गरिएको छ । लामो समय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नेतृत्वविहीन अवस्थामा रहेको थियो । मन्त्रालय मन्त्रिविहीन हुँदा मन्त्रालयबाट हुनुपर्ने कार्यहरु समेत प्रभावकारी रुपमा सञ्चालन हुन सकेको अवस्था थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाए पनि उनको नाता प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग जोडिएर विवाद बढेपछि हमालले दुई दिनमै मन्त्रालय छाडेका थिए । उनको राजीनामा स्वीकृत भएसँगै मन्त्रालयको कार्यभार देउवा आफैंले सम्हाल्दै आएका थिए ।

लामो रस्साकस्सी र दलीय भागवण्डाका कारण मन्त्री नियुक्त हुन नसक्दा मन्त्रालय नेतृत्व विहीन हुनपुगेको र करिब एक वर्षपछि कानुनमन्त्री बढुलाई उद्योग मन्त्रालयको जिम्मेवारीमा लगिएको थियो । बढु आएसँगै लामो समय अवरुद्ध हुन पुगेका मन्त्रालयका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि नेतृत्वदायी भूमिका खेलेको महसुस उद्योगी व्यवसायीले मात्रै होइन कर्मचारीले समेत गर्दै आएका छन् । मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै व्यापार घाटा कम गर्ने रणनीति, रुग्ण उद्योगहरु सञ्चालनका लागि कार्यनीति, उद्योगमैत्री वातावरण सिर्जना गर्नेका लागि खेल्नुपर्ने भूमिका, उद्योग सञ्चालनमा बाह्य लगानी भित्र्याउने, स्वदेशी उत्पादन खपत बढाउने रणनीति, सञ्चालनमा रहेका संस्थानहरुको नाफा बढाउनका लागि मन्त्री बडुले आफ्नो ध्यान केन्द्रीत गर्दै आएका छन् । त्यसैगरी मन्त्रालय मातहतका निकायहरुलाई प्रभावकारी रुपमा सेवा प्रदानका लागि मन्त्री बडुको स्पष्ट निर्देशन आइसकेको महसुस सेवाग्राहीहरुले गर्न थालेका छन् । विगतमा कम्पनी रजिष्टर कार्यालयबाट प्रदान हुने सेवामा अनियमितता र ढिलासुस्ती लगायतका गुनासाहरु प्रसस्तै सुनिन्थे तर मन्त्रालयमा बडुको नेतृत्व र रजिष्टार कार्यालयमा कुशल प्रशासक महेश बरालको नेतृत्वका कारण रजिष्टार कार्यालयको नकारात्मक समाचारहरु सुनिएका छैनन् ।

त्यस्तै बाणिज्य विभागले पनि बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । नजिकिँदो चाड पर्वलाई लक्षित गर्दै अनुगमन कार्यलाई सक्रिय रुप दिइएको हो । मन्त्री बडुले कालोबजार नियन्त्रणका लागि जुनसुकै कदम चाल्न पनि पछि नहट्ने अठोट लिएका कारण बाणिज्यको नेतृत्वले पनि उक्त अठोटलाई कार्यरुपमा परिणत गर्दै लगेको छ । प्रत्येक दिन ३ सदस्य सहितको छ वटा टोली बजार अनुगमनमा निस्कने गरेको छ जसले बजारमा भएको अनियमितता, कालोबजारी जस्ता कार्यलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दै आएको छ । उद्योगमैत्री नीतिले मात्रै समृद्ध राष्ट्र बन्न सक्छ भन्ने कुरामा मन्त्रालयको नेतृत्व प्रद्धिबद्ध भएकै कारण मन्त्री बडुको कार्ययोजना सफल हुँदै गएको छ ।