Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमल थापाहरु काखमा बस्दा घनश्यामहरु बाहिरै

काठमाडौं । राप्रपामा पराजित भएपछि राप्रपा नेपाल जन्माएका शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने तयारीमा छन् । यसअघि भुसाल निर्वाचित क्षेत्र रूपन्देही ३ पनि एमालेले राप्रपाका लागि छाडेको छ, जहाँबाट पञ्चायतकालमा समेत मन्त्री रहेका दीपक बोहोराले उम्मेदवारी दिँदै छन् । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शैलीसँग समर्पण नगर्ने भन्दै एमालेबाट अलग भएको घोषणा गरेका भुसाललाई रूपन्देही १ मा आफ्नोतर्फबाट उम्मेदवारी दिन सत्ता गठबन्धन दलका नेताहरूले प्रस्ताव गरेका छन् । गठबन्धनको भागबन्डामा रूपन्देही १ माओवादीलाई परेको छ । तर यो विषयमा छलफल भए पनि अन्तिम सहमति नभएको नेताहरूले बताएका छन् । भुसाल जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही १ र ३ बाट सिफारिस भएका थिए । तर, प्रदेश कमिटीले भने क्षेत्र नं. १ बाट छविलाल विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । त्यस्तै ३ बाट भुसाल, बासुदेव घिमिरेसहित तीन जनालाई सिफारिस गरेको थियो । तर, एमालेले राप्रपासँग तालमेल गरेर क्षेत्र नं. ३ छाडेपछि भुसालले पार्टी त्यागेका हुन् । क्षेत्र नं. ३ मा सिफारिस भएका घिमिरेले क्षेत्र नं. ५ बाट टिकट पाएका छन् । यसअघि क्षेत्र नं. ५ मा एमालेबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल भट्टराई एकल सिफारिस भएका थिए । भट्टराईको राष्ट्रिय सभामै डेढवर्षे कार्यकाल रहेकाले उनलाई त्यहीं रोकेर घिमिरेलाई टिकट दिइएको हो ।रूपन्देही १ भुसालको गृहनगर पनि हो । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाटै उठ्न चाहेका थिए । तर पार्टीले उनलाई क्षेत्र नं। ३ मा टिकट दिएको थियो । भुसालले त्यति बेला राप्रपाका बोहोरालाई हराएका थिए । यस पटक एमाले छाडेपछि भुसाललाई गठबन्धनका सबै नेताले रूपन्देही १ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा उनलाई समर्थन गर्नेबारे छलफल भए पनि टुंगोमा नपुगेको एक नेताले बताए । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बलालले नेता भुसाललाई गठन्धनबाट चुनाव लड्न आग्रह गरे पनि कुनै टुंगो नलागेको बताए । एमाले जिल्ला सचिवालयका एक सदस्यका अनुसार भुसाल स्वतन्त्रबाट मात्र उठ्दा पनि एमालेलाई समस्या पर्छ । त्यसमा गठबन्धनको समर्थन भुसालले पाए चुनाव जित्न पनि सक्ने आकलन छ । एमालेका अरू नेता पनि भुसालको पक्षमा जुट्न सक्ने एकीकृत समाजवादीका सचिव सिद्धिचरण भट्टराईले बताए । स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मतलाई आधार मान्ने हो भने रूपन्देही १ मा कांग्रेसको ३३ हजार, एमालेको ३० हजार, राप्रपाको १४ हजार, जसपाको ७ हजार, माओवादीको ४ हजार, एकीकृत समाजवादीको एक हजार र जनमोर्चाका ६ सय हाराहारी मत छ । लोकतान्त्रिक समाजवादी पार्टीको ३ हजार मत छ । स्थानीय तहमा प्राप्त मतअनुसार एमाले, राप्रपा र जसपाको जोड्दा ५१ हजार मत छ । गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको झन्डै ४२ हजार मत देखिन्छ । एमालेमा विद्रोह गर्नेको मत कति हुन्छ भन्ने अनुमान नभए पनि कम्तीमा ४र५ हजार मत भुसालले तलमाथि पार्न सक्ने र जीत निकाल्न सक्ने गठबन्धनका नेताहरूको भनाइ छ । वामपन्थी नेता भुसालले आफू एमालेले लिएको नीति र लोकतान्त्रिक पद्धतिमा प्रतिबद्ध रहे पनि नेतृत्वले पार्टी नै कब्जा गर्न खोजेकाले सँगै बस्न नसकेको बताए ।