Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदिरा कहिल्यै सेवन नगर्ने अमिताभ

काठमाडौं । ११ अक्टुबर। हिन्दी सिने जगतका महानायक अभिताभ बच्चन ८० वर्षका पुगेका छन्। पछिल्लो ५० वर्षभन्दा बढी समयदेखि अभिताभ हिन्दी फिल्म उद्योगमा अब्बल भएर छाइरहेका छन्। ७० को दशकमा पर्दामा कमाल गर्ने उनलाई आज पनि एकपछि अर्को सिनेमाको प्रस्ताव आइरहेको छ।
यसबाहेक ‘कौन बनेगा करोडपति–१४’ लाई पनि उनी लगातार प्रस्तुत गर्दै आइरहेका छन्। पाँच दशकभन्दा बढी समय हिन्दी सिने जगतमा गुजारिसकेका अमिताभ आज पनि शारीरिक रूपले ज्यादै ‘फिट’ छन्। उनको ‘फिटनेस’ सँधै चासोको विषय बन्दै आएको छ। आफ्नो जीवनमा अभिताभले कैयौं कठिन समयको सामना गरेका छन्। उनले टिबी र लिवर सिरोसिसजस्ता गम्भीर रोगको सामना गरेको बताइन्छ।
उनको ७५ प्रतिशत लिवर बिग्रिइसकेको अमिताभ आफैंले खुलासा गरेका थिए। यसका साथै उनले दुईपटक कोभिड–१९ लाई माथ दिइसकेका छन्। अभिताभलाई ‘मायस्थेनिया ग्रेभिस अटो इम्युन’ बिमारी पनि रहेको बताइन्छ। त्यसैले आफ्नो स्वास्थ्यलाई दुरूस्त राख्न उनी ज्यादै सचेत रहन्छन्। आफ्नो स्वास्थ्यलाई दुरूस्त राख्न अभिताभ आफूलाई सँधै चुरोट र मदिराबाट टाढा राख्छन्। उनले मांसाहारी खाना खान कैयौं वर्षअगाडि छाडिसकेका छन्। सादा खाना खाने अभिताभ दैनिक व्यायाम गर्न कहिल्यै छुटाउँदैनन्। उनी नियमित योग र प्राणायम गर्छन्। बिहान ब्युँझिएसँगै उनी जिम जान्छन्। शरीरमा रक्तसञ्चारलाई दुरूस्त राख्न उनी सँधै २० मिनेट हिँड्ने गर्छन्।
अभिताभ आफ्नो खानामा अर्गानिकलाई बढी महत्व दिन्छन्। उनले आफ्नो ब्लगमा लेखेका छन्–उनको दैनिकी वर्कआउटबाट सुरू हुन्छ। जिमपछि अमिताभ खजुर, स्याउ र केरा खान्छन्। बिहानको खाजामा दुध, प्रोटिन ड्रिन्क्स र चना खान्छन्। त्यसपछि औषधि, अमलाको जुस, तुलसीको पात र नरिवल पानी खान्छन्। उनको खाना सादा हुन्छ। जसमा दाल, तरकारी र रोटी हुन्छ। रातको खानामा सुप खान मन पराउँछन्। त्यसबाहेक पनिर खान पनि उनी रूचाउँछन्। कहिल्यै मदिरा सेवन नगर्ने उनी चिया, कफी र सफ्ट ड्रिन्क्सबाट पनि आफूलाई टाढा राख्छन्। चाट मन पराउने अमिताभ बंगाली मिठाइ खान पनि रूचाउँछन्।