Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेश महाभिडन्त, कसको पल्ला भारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने लगभग निश्चित छ। त्यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्। यादवसँग पटक–पटक सत्ता सञ्चालन गरिसकेको अनुभव छ भने राउत र ठाकुर भने पहिलोपटक चुनाव जित्ने कसरतमा लागेका छन्। खुला राजनीतिमा आएयता जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने ठाकुरसँग २०७४ सालको निर्वाचन लडेको अनुभव छ। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोसपाका ठाकुरलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दिएको छ। त्यस्तै जसपा अध्यक्ष यादवलाई त्यो क्षेत्रमा एमालेले साथ दिइरहेको छ। राउत भने एक्लै चुनावी मैदानमा छन्। त्यो क्षेत्रमा तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
२०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादवले त्यो क्षेत्रबाट २१ हजार ६२० मत ल्याएर चुनाव जितेका थिए। त्यतिबेला वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उमेशकुमार यादवलाई उनले पराजित गरेका थिए। उमेशको ११ हजार ५८० मत थियो। संघीय समाजवादी फोरमसँग तालमेल भएकाले तत्कालीन राजपाले त्यहाँ आफ्नो उम्मेदवार खडा गरेको थिएन। तालमेलकै कारण टिकट नपाएपछि तत्कालीन राजपाका ठाकुरले बागी उम्मेदवारी दिए। बागी भएर उम्मेदवारी दिएका उनले ९ हजार ४५९ मत ल्याएका थिए। अहिले लोसपामा आवद्ध रहेका उनलाई गठबन्धनका घटक दलहरूको साथ छ।
जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतको घर त्यसै क्षेत्रको महदेवा गाउँपालिकामा पर्छ भने ठाकुरको घर भने राजविराज नगरपालिकामा पर्छ। राजविराज नगरपालिका पनि क्षेत्र नम्बर २ अन्तर्गत नै रहेको छ। पहिलोपटक चुनावी दौडमा उत्रिएका जनमत पार्टीका अध्यक्ष राउतले सत्तागठबन्धन र विपक्षी गठबन्धन दुवैको मत तान्ने अनुमान त्यहाँका मतदाताहरूको छ। बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायतका विषयलाई प्राथमिकताका साथ उठाइरहेकोले मतदतालाई यसपटक आफूहरूलाई अवसर दिने जनमत पार्टीका नेता–कार्यकर्ताहरूको दाबी छ।
अर्कोतर्फ अघिल्लोपटक जितेर गइसकेपछि आफूले सप्तरी–२ का लागि विकास कार्य गरेकोले मतदाताले आफूलाई पुनः अवसर दिने जसपा अध्यक्ष यादवको भनाइ छ। कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा सुधार, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारीलगायतका काम आफूले गरेको उनको दाबी छ। यादव, ठाकुर र राउतबीच मुख्य प्रतिस्पर्धा देखिए पनि सप्तरी–२ मा जातीय मतले चुनावको नतिजालाई प्रभावित पार्नसक्ने कतिपयको अनुमान छ। त्यो क्षेत्र यादव बाहुल्य क्षेत्र हो। २०७४ को निर्वाचनमा माओवादीका उमेश यादव र जयप्रकाश लडेपछि मत बाडिँदा त्यसको फाइदा उपेन्द्रले पाउँदा सहज जित निकालेका थिए।
अहिले पनि त्यस्तै हुनसक्ने कतिपयको विश्लेषण छ। यसपटक राउत र जयप्रकाशको मत बाँडिने अनि त्यसको लाभ उपेन्द्रले पाउनसक्ने आकलन त्यस क्षेत्रका मतदाताहरूको छ। जातीय समीकरण मिलाउनकै लागि जसपाले बढी यादव मत भएको २(२) मा प्रदेससभातर्फ लक्ष्मण यादवलाई उम्मेदवार बनाएको छ। त्यस्तै यादव मत कम रहेको २(१) मा उसले शैलेन्द्र साहलाई प्रदेससभातर्फ उम्मेदवार बनाएको छ। साह प्रदेस सरकारका बहालवाला अर्थमन्त्री हुन्। जातीय समीकरण मिलाउन जसपाले यसो गरे पनि अरू दलले पनि त्यही रणनीति अपनाएको देखिन्छ।
सत्ता गठबन्धनले २(१) मा लोसपाका सरोज मण्डल र २(२) मा माओवादीका उमेश यादवलाई उम्मेदवार बनाएको छ। त्यस्तै जनमत पार्टीले २(१) मा सतिशकुमार सिंह र २(२) मा पूर्वमाओवादीका महेश यादवलाई उम्मेदवार बनाएको छ। अघिल्लोपटक चुनाव लडेर पराजित भएका उनी पछिल्लो समय जनमत पार्टी प्रवेश गरेका हुन्। दोस्रोपटक सप्तरी–२ बाट चुनाव जित्ने प्रयासमा रहेका जसपा अध्यक्ष यादवलाई अघिल्लो निर्वाचनको जस्तो सहज नरहेको त्यहाँका स्थानीयहरू बताउँछन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतको आँकडाको हिसाबले पनि जसपा अध्यक्ष यादवलाई यसपटक चुनाव जित्न त्यति सहज देखिँदैन।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा सत्ता गठबन्धनको ३६ हजार ८१२ मत छ। अर्कोतर्फ एमाले–जसपा गठबन्धनको १९ हजार ६८ मत पुग्छ। स्थानीय तह निर्वाचनमा लगभग दोब्बर मतको अन्तर रहेकोले पनि सत्ता गठबन्धनका उम्मेदवार ठाकुर आफ्नो जितलाई सुनिश्चित हेरिरहेका छन्।