Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

म माननीय होइन सेवक बन्न चाहन्छु

डा. दीपेश केसी, स्वतन्त्र उम्मेदवार ललितपुर क्षेत्र नं. २
डा. दीपेश केसी बहुमुखी प्रतिभाका धनी हुन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी गरेका उनी सामाजिक समस्याको गहिरो अनुसन्धानका कारण चर्चामा छन् । अनुसन्धानमूलक पुस्तकहरू, उपन्यास तथा विभिन्न कृति प्रकाशित गरिसकेका केसीले खोजमूलक पत्रकारितामा दुई दशक बिताए । उनका हजारौं लेख तथा रचना पत्रपत्रिकामा प्रकाशित छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूमा लेखहरू प्रकाशित छन् । केसीले कलेज र विश्वविद्यालयको शिक्षा सबै छात्रवृत्तिमै अध्ययन गरे । समाज सेवामा सधै अगाडि केसी बाल क्लब हुँदै विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निभाए । ललितपुरको महालक्ष्मी ८ स्थित विष्णुडोलमा जन्मिएका केसी यतिबेला ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा छन् । उनीसँग ताजाखबरले गरेको विषेश कुराकानीः 

० तपाईं खोजी पत्रकारितामा स्थापित व्यक्ति एकाएक राजनीतिमा किन लाग्नुभयो ? 
खोजी पत्रकारिता गर्दा मैंले राजनीतिक बेथिती र विसंगतिको पनि शल्यक्रिया गरेको छु । राजनीतिको मुख्य समस्या बुझेको छु । जसको समाधान गर्ने बुटी मसँग छ ।

० समस्या समाधानको बुटी के हो ? 
हाम्रो देशमा मुख्य समस्या राजनीति नभई सामाजिक हो । समाजमा धनी र गरिबबीचको खाडल छ । महिला र पुरुषबीच विभेद छ । उपल्लो र तल्लो जातिका नाममा विभेद छ । मानिस मानिसबीचको यो विभेदको असर राजनीतिसम्म छ । राजनीतिक नेतृत्व गर्नेहरू सामाजिक समस्या हल गर्नुको साटो बल्झाएर आफ्नो दुनो सोझ्याउन चाहन्छन् । उनीहरू विभेद र असमानताको नाममा चुनाव जितेर पदमा पुग्छन् त्यसैले समाधान गर्न चाहँदैनन् ।

० तपाईं एकजना राजनीतिमा आएर समस्या समाधान हुन्छ ? 
शुरुवात त हुनुप¥यो । कहीँ न कहीँ परिवर्तनको दीयो बल्नुप¥यो । बुद्धको अहिंसावादको विचार एकजनाबाट शुरु भयो र सँसारभर फैलियो । देशमा पनि एउटा शुरुवात हुनुपर्छ । ललितपुरले त्यो शुरुवात गर्नेछ । ललितपुरका जनताले परिवर्तनका लागि दीयो बाल्नुहुनेछ । यही शुरुवातले सामाजिक समस्याको हल गर्दै राजनीतिक समस्या पनि गर्नेछ ।

० तपाईंले धर्म, संस्कृति र मौलिकतामा जोड दिइरहनुभएको छ, कतै तपाईं पुरानो बाटोमा त फर्कने कुरा गर्दै हुनुहुन्न ? 
के सभ्यता बचाउनु प्रतिगामी हो ? के मौलिकता जोगाउनु प्रतिगामी हो ? के संस्कृति जोगाउनु प्रतिगामी हो ? मैंले पत्रकारिताको दुई दशकको यात्राभर संस्कृति र सम्पदा जोगाउने अभियान चलाइरहेँ । कुनै प्रकारका धम्की देखि डगिनँ । लगनखेलको सप्तपाताल पोखरी, ठमेलस्थित पोखरी, गुठी संस्कृति, ऐतिहासिक पुरातात्विक पुल्चोकस्थित सैनिक स्मारकलगायतका क्षेत्र हडप्नेहरूविरुद्ध कलम चलाइरहेँ । म अहिले पनि यी विषयमा बोल्दै आएको छु । मौलिक कला संस्कृति र उत्पादन जोगाउनुपर्ने मेरो मूल मुद्दा हो । त्यो जोगाए मात्र घर घरमा रोजगारीको सृजना हुनसक्छ ।

० समानुपातिक निर्वाचन प्रणाली र संघीयताबारे तपाईको धारणा के छ ? 
समानुपातिक प्रणालीका नाममा नातावाद, कृपावाद र धनवाद हावी भएको छ । यसले नयाँ सामाजिक समस्या ल्याएको छ । नेपाली जनताले ६० प्रतिशत मात्र जनप्रनिधि प्रत्यक्ष रूपमा चुन्न पाएका छन् । चिन्दै नचिन्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने वाध्यतामा छन् । यो प्रणाली खारेज नभए देश सधैं अस्थिरताको भूमरिमा परिरहन्छ । संघीयता जाति जाति लडाउन ल्याइएको हो भन्ने प्रमाणित भइसकेको छ । यसको खारेजी जरुरी छ । काठमाडौंको राजधानी हेटौंडा हुन सक्दैन । जातिय राज्य स्वीकार्य छैन । यो राष्ट्र नै बर्बाद बनाउन विदेशीबाट लादिएको विषय हो । यो हटाउन पनि स्वतन्त्र विचारहरूलाई स्वीकार गरेर बढ्नुपर्ने भएको छ ।

० तपाईं एकजना स्वतन्त्र व्यक्ति संसदमा जाँदैमा यति ठूलो परिवर्तन आउला ? 
म एक्लो छैन । मलाई ललितपुरवादी र देशभक्त नेपालीको साथ छ । स्वतन्त्र विचार जागिसकेको । नेपाल स्वतन्त्र नागरिक सञ्जालले देशभर क्रस खुकुरी चुनाव चिन्हका उम्मेदवारहरूको संयोजन गरेर बढिसकेको छ । त्यसैले परिवर्तनको सुरुवात भइसकेको छ । व्यक्ति व्यक्ति हुँदै घर घर, परिवार परिवार, गाउँ टोल हुँदै देशव्यापी रूपमा स्वतन्त्र विचार आइसकेको छ । नेपाली जनताले दलहरूले बहुमत समेत सम्हाल्न नसकेको बुझिसकेका छन् । अब दलहरूले ठूलै सजाय पाउने अवस्था बनेको छ ।

० देश बनाउन तपाईंसँग के के भिजन र मिसन छ ? 
सबैभन्दा माथि देश, युवाको काँधमा देश । देशलाई माथि सोचेर काम गरेमा कुनैपनि नेता भ्रष्ट बन्न सक्दैन । जब नियत सफा हुन्छ परिणाम पनि राम्रो आउँछ । देशमा नैतिक मूल्य मान्यताको विकास हुन जरुरी छ । समाजमा धनवाद होइन धर्मवाद बलियो हुन जरुरी छ । असल विचार बलियो भई असल मानिसहरू संगठित हुने पद्धति विकास गर्न जरुरी छ । अन्याय र अत्याचारविरुद्ध आवाज उठिहाल्ने र सरकारी निकायबाट त्यसको समयमै सुनुवाई हुन जरुरी छ । राज्यको जिम्मेवार निकाय नागरिकप्रति उत्तरदारी बनाउन जरुरी छ । बालबालिकामा राष्ट्रभक्त जगाउनै पर्छ । आफ्नो माटो प्रति माया गर्न सिकाए पो युवा विदेशि नै छैन । युवाका लागि अवसर सृजना गर्न जरुरी छ । इतिहासप्रति गर्ववान्वित हुने वातावरण बनाएर भावी पीढीका लागि काम गर्ने अवस्था सृजना गर्नुपर्छ ।

० तपाईंको ललितपुरवासीलाई के सन्देश छ ? 
म सेवक बन्न चाहन्छु माननीय होइन । ललितपुरको माटोमा जन्मिएर र हुर्किएर बुझेको छु । मेरो मनमा ललितपुरलाई नमूना जिल्ला बनाउने सपना छ । यसलाई पूरा गर्ने अठोट छ । ललितपुरबाट अब देशभरका जिल्लाले सिक्नेगरी काम गर्ने धोको छ । ललितपुरले दीयो बालिसकेको छ । परिवर्तन र प्रगतिको दीयो । यो देशव्यापी प्रकाश फैलाउँदै बढ्नेछ । तपाईंहरूले यसपाली क्रस खुकुरी चिन्हमा मतदात गरी प्रतिनिधि सभामा मलाई चुनेर पठाउनुहोस् म ललितपुरको नाम अझ गर्व गर्न लायक बनाएर देखाउनेछु । तपाईंहरूले ललितपुरे भन्दा झन् गर्व गर्ने अवस्था बनाउँछु ।


सम्बन्धित समाचार