Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगरमा बालेनको उपद्रो !

काठमाडौं । एमालेका नालायक विद्यासुन्दर शाक्य जस्ताबाट उब्जेको विद्रोहको झिल्को पक्रेर मेयर निर्वाचित बालेन शाहको क्रेज अब खस्कँदै छ । शाहले १३० वर्ष पुरानो टुकुचा खोतल्न थाल्दा सहरवासीले ए रात्तै भन्दै पनि थिए तर उनले शारीरिक अपाङ्गता भएका व्यक्तिल सडकको छेउमा बसेर गीत गाएर जीवन निर्वाह गरेको पनि देख्न सकेनन् । नगर प्रहरीले गरिब र दुःखीको ठेला गाडा खोस्ने, पुथपाथे, झोले र कुम्लेको सामान लुट्ने, घुस लिएर ठेला राख्न दिने नगर प्रहरीको चरित्र सुधारेका छैनन् । दीपावलीको बेला न्यूरोडका व्यापारीले सिंगारेको फुल र तोरन भत्काएर देखाएको बहादुरीलाई व्यापारी र आम नागरिकले मन पराएका छैनन् । आफू निर्वाचित भएर आएपछि भत्काउने मात्रै काम गरेका छन् बालेनले । अहिलेसम्म विकास बजेटको ५ प्रतिशत भन्दा बढी खर्च उनको समयमा हुन सकेको छैन । जसको स्थायी कार्यालय समेत छैन । यस्तो चरित्रले महानगरलाई कस्तो बनाउला ? गरिबले डोकोमा बोकेर बेच्दै हिँडेको तरकारी खोस्ने, लत्ता कपडा र ठेलाको मकै खोसेर आफ्ना सन्तानलाई खुवाउन र लगाउन लैजाने दुष्टहरूको साथमा चम्केका बालेन प्रवृत्तिमाथि जनताले प्रहार गरे भने कठै भन्ने व्यक्ति भोलिका दिनमा नभेटिन सक्छन् । टोले गुण्डाहरूबाट सञ्चालित सडक पार्किङको विकृति कति छ कति ? असन र इन्द्रचोकमा समेत बालेनविरुद्ध मोर्चा बन्यो भने महानगरका सुरक्षाकर्मीको केही लाग्दैन । टुकुचाको खोजी धन्दामै फसेका बालेनलाई त्यो क्षेत्रको नक्सा, नापीले समेत दिन चाहेन । न्यूरोडका सुन पसलेले आफ्नो पसलमाथि लक्ष्मि पूजाका दिन टाँगेको फुलगुच्छा, तोरन नगरपालिकाले हटाएर राम्रो सन्देश दिएन । विद्युतको पोलमा केबल तारले शहरको कुरूपता बढाएको छ । खानेपानी र ढलको समस्या उस्तै छ, सडक खाल्डाखुल्डी पुर्ने एम्बुलेन्स कता गयो नगरवासीले पत्तो पाएका छैनन् । सुन्धाराको पानी सुकाउन सञ्चायकोष भवनले समेत नक्सा विपरित भवन निर्माण गरेको यतिखेर पुष्टि हुँदैछ । १३० वर्ष पुरानो टुकुचा खोज्दा उत्तानो परेका बालेनलाई राजनीतिक अराजकको उपाधि दिन नगरवासीहरू तयार छन् । पार्टीको घोषणापत्रलाई लत्याउने ४१ महिने शासक र महानगरका बालेनबीच नगरवासीले अन्तर देखेनन् भने पनि नौलो हुने छैन । मेयर बालेन शाहको अराजकताको पक्षमा रहेका काँग्रेस, राप्रपा र एमालेका वडाध्यक्षहरूका बारेमा समेत अब प्रश्न उठ्न थालेको छ । स्थानीय सरकारले जनताको जीवन ध्यान दिने हो । राजधानीका पुराना संरचनाहरू ढुंगेधारा, पोखरी सुकेका छन् । विद्युत, शहर, फोहोरको उचित व्यवस्थापन भएको छैन । बजार अनुगमन पनि स्थानीय सरकारले गर्न सक्थ्यो । विद्या सुन्दर शाक्यले जनतालाई प्रभाव पार्न नसक्दा प्रवेश भएका बालेनलाई सडक व्यापार गर्नेहरूको हितमा निर्णय गर्न सक्ने मौका थियो । निश्चित समय र स्थान तोकेर बिहान र बेलुकीको समयमा त्यस्ता व्यापारीहरूलाई गरिखान दिने हो भने महानगरको बदनाम हुँदैनथ्यो । फोहोर फाल्ने ल्याण्डफिल्ड साइडको नाममा अरब खर्चन सक्ने महानगरले फोहोरबाट मोहोर बनाउने अभियान चलाउन भक्तपुर नगरपालिकाबाट सिकेको भए पनि हुने थियो । त्यो नगरपालिकाले किसानलाई राहतको रूपमा प्रतिकिलो २० रूपैयाँमा फोहोरबाट बनेको मल बेचिरहेको कुरा काठमाडौं महानगरलाई थाहा नभएको होइन ।