Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकिङ तरलतामा देखिएन सुधार

काठमाडौं । असार लाग्न लाग्दा पनि तरलता सुधारको कुनै संकेत देखिएको छैन । सरकारले खर्च गर्न नसक्दा बैंकिङ तरलता अभाव कम नभएको हो । सरकारले खर्च नगर्ने तर बैंकहरुले निक्षेप संकलनको तुलनामा ऋण अत्याधिक बृद्धि गर्दा तरलतामा निरन्तर दबाब देखिएको हो । पछिल्ला दुई बर्षमा यतिबेला तरलता सहज हुने गरेको थियो, यसपाली भने सहज हुने झिनो संकेतसमेत देखिएको छैन । पुरानो प्रबृत्ती अनुसार बैंकरले यतिबेला तरलता सहज हुने अपेक्षा गरेका थिए । अझै पनि बैंकरको आशा भने मरेको छैन ।
सरकारले अन्तिम समयमा आएर आन्तरिक ऋण उठाएका कारण पनि तरलता अभाव झनै चर्किएको हो । सरकारले १७२ अर्बमध्ये ८६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने तालिका बनाएको थियो । तर तरलता अभावका कारण ५४ अर्ब रुपैयाँभन्दा उठाउन सकेन । हरेक वर्ष बैशाख लागेसँगै सरकारी बजेट खर्च बढ्ने गरेको थियो। यस वर्ष फरक किसिमको अवस्था देखिएको बैंकरहरु बताउँछन् । आर्थिक वर्ष सकिन ३६ दिन मात्रै बाँकी रहदा पूँजीगत खर्च ४६.१२ प्रतिशत मात्रै भएको छ ।
सरकारले सुरुवाति अवस्थाका परियोजनालाई धेरै बजेट छुट्याउने, राम्रो काम भएको परियोजनामा कम बजेट हाल्ने र समयमा बन्नु पर्ने परियोजनामा ढिलाइ गर्दा पनि विकास खर्च हुँदैन । ठेक्का प्रणालीका समस्याले गर्दा समयमा ठेकेदारले काम गर्न सक्दैनन् । कतिपय ठेकेदारले काम सकेपछि पनि पैसा भुक्तानी पाएका छैनन् ।
बैंकिङ तरलताको अवस्था
बाणिज्य बैंकहरुले जेठ तेस्रो सातासम्ममा २७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २४ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । जेठ लागेसँगै बजेट खर्च हुने र बैंकिङ तरलता समाधान हुने अपेक्षा गरिए पनि तीन सातामा १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने ऋण लगानी ११ अर्ब रुपैयाँले बढेको छ । बैंकिङ क्षेत्रमा पैसा आउने भन्दै बैंकहरुले आफ्ना ग्राहकलाई केही सयम थामिन आग्रह गर्दै आएका छन् । बैंकहरुले आक्रामक रुपमा लगानी गर्दा बैंकिङ तरलतामा थप समस्या देखा पर्दै आएको छ । निक्षेपको अनुपातमा कर्जाको माग बढ्दै गर्दा प्राथमिकताको आधारमा ग्राहकको वर्गीकरण गरेर कर्जा प्रवाह गर्नु परेको राणाले बताए । पुराना ग्राहकले आफ्नो व्यवशाय विस्तार गर्न थप कर्जा माग गर्दा दिनै पर्ने बाध्यतामा बैंकहरु छन् ।
आर्थिक वर्ष सकिने वेलामा मात्रै खर्च गर्ने परिपाटिले हरेक वर्ष वित्तीय चक्रलाई नै प्रभावित पार्ने गरेको छ । सरकारले त्रैमाशिक रुपमा कर उठाउने व्यवस्था बनाउन सक्ने तर खर्च गर्ने व्यवस्था बनाउन नसक्दा यस्तो अवस्था आएको शेरचन बताउँछन् । सरकारले सोमबारसम्मा लक्ष्य अनुसार ७२.७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । तर बजेट खर्च भने जम्मा ६० प्रतिशत मात्रै भएको छ । सरकार आफ्नो ढुकुटीमा पैसा जम्मा गरेर रमाइरहेको बैंकरहरु बताउँछन् । खर्च नगरी ढुकुटीमा पैसा थन्काएर राख्दा बैंकिङ क्षेत्रमा पैसा आउन सक्दैन । यसले गर्दा बजारमा तरलता समाधान हुन नसकेको हो ।