Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मनोचिकित्सकसहित कन्चनपुर जाँदै प्रहरी

काठमाडौं । गृहमन्त्रीको सपथ खाएकै दिन रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउने घोषणा गरेपछि अनुसन्धानमा लामो समयदेखि खटिएका प्रहरीहरु जिल्ल परेका थिए । प्रहरीले सुरुमा आरोपीका रुपमा उभ्याएका दिलिप सिंह विष्टबाहेक कुनै क्लु पाउन सकिरहेको थिएन । देशभरका ठूला जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी यो घटनाको निरन्तर अनुसन्धानमा थियो । ‘पहिलो प्राथमिकतामा राखेरै यसको अनुसन्धान भइरहेको थियो । हरेक आईजीपीले यसलाई पहिलो चुनौती मानिरहेका थिए । तर गृहमन्त्रीले आएलगत्तै निर्मला हत्यारा पत्ता लगाउने बताउनु भयो’, निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धानमा कुनै समय खटिएका एक अधिकारी भन्छन् । कन्चनपुरको भीमदत्तमा २०७५ साउन ११ गते बिहान स्थानीय उखुबारीमा १३ वर्षीया निर्मलाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । उनी अघिल्लो दिन साथीको घरमा पढ्न भन्दै निस्किएकी थिइन् । पोस्ट मार्टममा उनको बलात्कारपछि हत्या भएको पाइएको थियो ।
सीआईबी नेतृत्वको टोलीले झन्डै एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । आरोपी विष्टले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र परिस्थितिजन्य प्रमाणले पनि त्यसलाई स्थापित गर्ने सीआईबीको दाबी थियो । तर मृतकको भेजिनल स्वाबको परीक्षणबाट आरोपीको डिएनए नमिलेपछि विष्ट छुटेका थिए । त्यतिबेला निर्दोषलाई आरोपीका रुपयमा उभ्याएर वास्तविक दोषीलाई बचाउन खोजेको भन्दै कन्चनपुरमा आन्दोलन चर्किएको थियो । त्यसयता दर्जनौँ अनुसन्धान अधिकृतहरु कन्चपुर पुगेपनि निर्मला पन्त हत्याका आरोपी पक्राउ पर्न सकेका छैनन् । विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेका तत्कालीन अनुसन्धान अधिकृत अंगुर जिसीले डिएनए नमिलेपनि विष्ट नै आरोपी भएको दाबी गर्दै आएका छन् । त्यसयता गठन भएका विभिन्न समितिले स्वाब संकलनमा त्रुटी भएको, डीएनएमा मात्र भर पर्न नहुने सुझाव दिँदै आएका छन् ।
निर्मला पन्त हत्यारा पत्ता लगाउने घोषणा गरेका गृहमन्त्री लामिछानेलाई प्रहरी प्रधान कार्यालयले यो घटनामा अहिलेसम्म भएको प्रगति विवरणबारे पनि ब्रिफिङ गरिसकेको छ । लामिछानेको निर्देशन बमोजिम प्रहरी प्रधान कार्यालयले डीआईजी दुर्गा सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । त्यसमा अधिकांश सीआईबीकै अधिकारी छन् । प्रहरी अस्पतालमा कार्यरत मनोचिकित्सकलाई पनि समितिमा राखिएको छ । डीआईजी सिंह कन्चनपुर पुगिसकेकी छन् भने अन्य समिति सदस्यहरु त्यहाँ जानेक्रममा छन् । मनोचिकित्सक राखिएकाले प्रहरी प्रधान कार्यालयको पछिल्लो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि सरकारले सहसचिवको नेतृत्वमा र प्रहरी प्रधान कार्यालयले एआईजीको नेतृत्वमा छानबिन समिति बनाएका थिए । केही दिनअघि हालसम्म यो घटनाको अनुसन्धानमा खटिएका अधिकारीले बोलाएर सिंह नेतृत्वको छानबिन समितिले ब्रिफिङ लिएको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म सयजनाभन्दा बढी व्यक्तिको डीएनए परिक्षण भएको बुझिएको छ । त्यसमा घटनास्थल नजिकै रहेको सैनिक ब्यारेकका केही सैनिकहरु पनि रहेका छन् ।