Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हत्या अभियोगमा मुछिएका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ। कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर जारी गरेको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी भएको बताए। नेकपा एमालेका सांसद कोइरी महोत्तरी–१ बाट निर्वाचित भएका हुन्। गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ। गृह मन्त्रालयबाट लिखित र मौखिक निर्देशन आएको राईले बताए। सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको बताउँदै राईले उनी छिट्टै समातिने उल्लेख गरे। गृहमन्त्रीले दिएको निर्देशनका बाबजुद कोइरी पक्राउ नभएर चौतर्फी आलोचना हुन थालेपछि ६ माघमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो।
‘उपप्रधानमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहले विज्ञप्ति निकालेर भनेको थियो। मधेस आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद कोइरीमाथि छ। २०७२ भदौ २५ गते विकको हत्या भएको थियो। महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सांसद कोइरी त्यतिबेला मधेसी जनअधिकार फोरममा आवद्ध थिए। उनी विक हत्याको योजनाकार रहेको आरोप छ।
उच्च अदालत जनकपुरले महतोलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो। जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा महतोलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै २०७७ मंसिर १९ मा महतोलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो।
वारेसबाट उम्मेदवारी दिएका महतो चुनाव जितेपछि वारेसबाटै विजयी भएको प्रमाणपत्र बुझेका थिए। उच्च अदालत जनकपुरले जारी गरेको ‘वारेन्ट’ का कारण कोइरी प्रहरीको ‘खोजी सूची’ मा छन्। अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ। तर, प्रतिनिधिसभा सदस्यको सपथग्रहण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन संसदमा उपस्थित भएका उनी प्रहरीको ‘नजर’ मा परेनन्। सांसद कोइरीको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ। उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाएको छ। घरमा प्रहरीको निगरानी बढेपछि सांसद कोइरी भारततिर लागेको आशंका गरिएको छ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल