Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भावी राष्ट्रपतिमा होला त राष्ट्रिय सहमति ?

काठमाडौं । राष्ट्रपति निर्वाचनको समय नजिकिँदै जाँदा सत्ता गठबन्धनका दुई प्रमुख दलका शीर्ष नेताहरूबीचको भेटघाट पनि बाक्लिँदै गएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय निरन्तर भेटवार्तामा व्यस्त देखिएका हुन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो। बालुवाटार वार्ताको १२ घण्टा नबित्दै दुवै नेताबीच बुधबार बालकोटमा छलफल भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहानै बालकोट पुगेका थिए। दुवै नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहे पनि पछिल्ला संवादहरू मुख्यतः राष्ट्रपति निर्वाचनतर्फ केन्द्रित रहेको छ।
नेकपा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्। राष्ट्रिय सहमतिसँग उनको तात्पर्य छ–आफूलाई विश्वासको मत दिएको नेपाली कांग्रेससँग। राष्ट्रियसभाको उपाध्यक्षमा भने उसले आफ्नो उम्मेदवार खडा गरेन। माओवादी केन्द्रकी उम्मेदवारलाई सघाउने निर्णय ग¥यो। कांग्रेसले उम्मेदवारी नदिएपछि राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भइन्। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले प्रदेसहरूमा पनि माओवादीका मुख्यमन्त्रीलाई समर्थन दिएको छ।
एमालेका मुख्यमन्त्री भएका प्रदेसहरूमा भने कांग्रेसले त्यसो गरेको छैन। प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा उम्मेदवारी दिएको कांग्रेसले राष्ट्रपतिमा पनि उम्मेदवार खडा गर्ने तयारी गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र यो पार्टीका मुख्यमन्त्रीहरूलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनका बेला सहयोगको अपेक्षा गरेको छ। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएपछि प्रधानमन्त्री प्रचण्ड लचक देखिए पनि सत्ता गठबन्धनका प्रमुख घटक दल नेकपा एमालेका अध्यक्ष ओली भने अडानबाट पछि हट्न तयार छैनन्। राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडानमा ओली देखिएका छन्। उनी सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिका लागि एमालेबाट उम्मेदवार खडा गर्न चाहेका छन्। सरकार गठनका बेला सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडान ओलीले पटकपटक दोहो¥याइरहेका छन्। बुधबार बिहान बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ओलीले फेरि आफ्नो अडान दोहो¥याए।
राष्ट्रपति अन्य पार्टीलाई नछाड्ने अडान दोहो¥याउँदै उनले पूर्वसहमतिअनुसार नै अघि बढ्नुपर्ने प्रचण्डलाई सुनाएका छन्। ‘तपाईंलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ। अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन। एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्छ,’ ओलीले प्रचण्डसँग गरेको कुराकानीलाई उद्धृत गर्दै एमालेका एक नेताले भने। प्रचण्ड भने राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न कांग्रेसको समेत साथ लिने पक्षमा छन्। त्यसैले उनी पटकपटक राष्ट्रिय सहमतिको कुरा निकाल्ने गरेका छन्। उनले कांग्रेसले समेत राष्ट्रपतिमा दाबी गरेकाले राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने ओलीलाई सुनाएका छन्। राष्ट्रपतिको विषयमा साझा धारणा बनाउन सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डले बताएका छन्। प्रचण्डले यसो बताएपछि बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका छन्। उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपतिका उम्मेदवारबारे छलफल हुने बताइएको छ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपतिका लागि आफ्नो उम्मेदवार खडा गर्ने बताइरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि आफ्नो अडानमा कायम देखिएको छ। एमालेका नेताहरू सरकार गठनका बेला राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउने सहमति भएको भन्दै त्यसमा सत्ता गठबन्धनको साथ पाउने विश्वासमा देखिन्छन्। यता ‘राष्ट्रिय सहमति’ हुनुपर्ने माओवादी केन्द्रको अडानले कांग्रेस पनि उत्साहित बनेको छ। कांग्रेसका नेताहरूले आफ्नो दलबाट रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने बताउने गरेका छन्। दुई ठूला दलहरू आ–आफ्नै अडानमा देखिएका बेला राष्ट्रपतिका लागि वैकल्पिक व्यक्तिको नाम पनि चर्चामा आउन थालेको छ। एमाले र कांग्रेसबाहेक राष्ट्रपतिका लागि चर्चामा आएको नाममध्ये एक हुन् लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुर। यो पार्टीका नेताहरूले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्दा ठाकुर उपयुक्त व्यक्ति हुनसक्ने दाबी गरेका छन्। राष्ट्रपतिका लागि अध्यक्ष ठाकुरलाई अगाडि सार्दा राष्ट्रिय सहमति हुनसक्ने लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीको तर्क छ। ‘जसरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा गर्नुभएको छ त्यो हिसाबले महन्थ ठाकुर उपयुक्त व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भने,‘उहाँलाई अगाडि सार्दा राष्ट्रिय सहमति हुन्छ जस्तो मलाई लागेको छ।’
राष्ट्रपतिका लागि ठाकुरको नाम चर्चामा आउनुलाई आफूहरूले स्वभाविक रूपमा लिएको उनले बताए। ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको कुरा भइरहँदा उहाँको नाम अगाडि आउनु स्वभाविक हो। राष्ट्रपतिका लागि उहाँको नाम चर्चामा आउनुलाई हामीले स्वभाविक रूपमा लिएका छौं,’ भण्डारीले भने। भण्डारीका अनुसार ठाकुर राष्ट्रपतिमा सबैले पत्याउने अनुहार हुन्। उनी भन्छन्,‘उहाँ सबैले पत्याउने डेमोक्रेटिक, सालीन, इमानदार र दागरहीत व्यक्ति हुनुहुन्छ। राष्ट्र प्रमुखमा यस्तैखाले व्यक्ति जानुपर्छ भन्ने हाम्रो भनाइ हो।’ यद्यपि यसविषयमा औपचारिक वा अनौपचारिक रूपमा दलहरूसँग संवाद नभएको उनले बताए। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रपति चुनाव झन् पेचिलो बन्ने र वर्तमान सत्ता समीकरण नै हेरफेर हुने अनुमानहरू भइरहेका छन्।


सम्बन्धित समाचार