Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेवलाई किन चाहियो प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली थला परेको फाइदा उठाउँदै विधानमै नभएको उपाध्यक्ष र संविधानमै नभएको प्रधानमन्त्री पदका आकांक्षी वामदेव गौतम फेरि बुरुक्क उफ्रेर प्रधानमन्त्रीको सपना देख्दैछन् । वामदेवलाई थाहा छैन, नेपाली राजनीतिको कपट र दुष्ट कोही छ भने केपी ओली हुन् । जसले जीवन प्रयन्त सत्ता छाड्दैनन् । उनका दलालले देश लुट्न छूट पाएका छन् । प्रम ओलीको समृद्धि र विकास त्यही अडिएको छ । उनीहरू अपराध गर्छन् जनताको हितमा सिन्को भाँच्दैनन् सपना बाँड्छन् त्यही रमाउँछन् । अहिले चर्चा वामदेव प्रधानमन्त्री हुनेछ । संविधान फेर्नु पर्ला नेकपाको स्वार्थ मात्रै जहाँ त्यहाँ टिक्छ ? ईश्वर, माधवहरूले मान्छन् ? पार्टी उपाध्यक्ष पद नै वैधानिक भएको छैन । राष्ट्रियसभामा सदस्य हुनेले प्रधानमन्त्रीको पद ताक्न सक्ने कानुनी व्यवस्था छैन ।

वामदेव तत्काल सांसद भएको खण्डमा राष्ट्रिय सभाको हुने हुन् । उनका निम्ति संविधान परिवर्तन गरेर प्रधानमन्त्री पद सुम्पनु पर्ने बाध्यता उनले केपीलाई समर्थन गरेकैले आइलागेको हो ? होइन भने नेकपालाई के त्यस्तो बाध्यता छ । एकजना व्यक्तिका लागि संविधान नै संशोधन गर्नुपर्ने ? के नेकपामा प्रधानमन्त्री हुन योग्य अरु नेता जनताबाट चुनिएर आएकै छैनन् ? जनताको निम्ति राज्य जिम्मेवार छैन । महंगीले नेटो काटिसक्यो । नेतृत्वले कार्यकर्ताको क्षमताको चासो छैन । केपी र प्रचण्डका दलाल भए क्षमता र योग्यता चाहिँदैन । स्वच्छता, इमान्दारिता, लगनशील जरुरी छैन । रक्सीको बोतल, लोकल कुखुराका सपेटा खान पाए पार्टीका नेतालाई निष्ठा र कर्तव्य जरुरी पर्दैन । स्वार्थ र गुटको खेती गर्दै आएका प्रधानमन्त्री केपी ओली र उनका सहयात्री पुष्पकमल दाहालको स्वार्थमा नेपाली जनता चल्नु पर्ने बाध्यताको भण्डाफोर हुन थालेको छ । यही बेला वमदेव प्रधानमन्त्रीको सपना देख्दैछन् । ६० वर्षसम्म कम्युनिष्ट पार्टीको कब्जामा रहेको धरानलाई अहिले काँग्रेसका युवा नेता प्रकाश राईले कजाउँदैछन् ।

नेमकिपाको बर्चश्व भए पनि भक्तपुर प्रदेश १ (क) हिजो कब्जा गरेको नेकपाले उपचुनावमा आफ्नो सिट फुत्कायो । एमाले माओवादी पार्टी मिलेर देखावटी नेकपा भयो तर नेकपा भएकै छैन । नेकपाको नाममा ओली र प्रचण्डलाई गणेश सम्झनेहरूको मनपरी सरकार र पार्टीमा चल्नु भनेको अबका दिनमा जनताको आवश्यकता नेकपाले नदेख्नु हो । सरकार भ्रष्टाचार नियन्त्रण गर्न सक्ने स्थितिमा छैन । ओली सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त छन् । दलाली पेशा गर्दा गर्दै नेतालाई पैसा बुझाएर सांसदको टिकट हत्याएर पैसा खर्च गरेर चुनाव जितेकाहरूलाई मन्त्रिपरिषद् सदस्य बनाउँदा पार्टी अध्यक्षद्वयको इज्जत कसरी बच्छ ? र, उपचुनावले दिएको झापडको समिक्षा हुन्छ ? जनताले नेकपाको नेतत्व स्वार्थी, पदलम्पट, गुटपरस्त, व्यभिचारी भ्रष्ट दलाल हुन्छ भन्ने सोचेको थिएन ।

०७४ सालको चुनावमा जनताले नेकपाप्रति दर्शाएको सद्भाव अबका दिनमा प्राप्त हुन सक्दैन । किनकि नेकपाका नेताहरू सरकारी जमिन कब्जा गर्ने पनि छन् । अर्काको सम्पत्ति हडप्ने र सत्ताको आडमा डनवाद लागू गर्ने हैसियतका पनि छन् । सरकारलाई जन सरोकारको चासो छैन । तस्करी बढीरहेको छ । राष्ट्रको राजश्व घटिरहेको छ । ठेक्का लिने, काम नगर्ने ठेकेदारको दबाव र रवाफ सत्ताकै आडमा चम्किँदो छ । रु ८ अर्बको काम रु १८ अर्बमा ठेक्का दिलाएर देशको ढुकुटीबाट रु १० अर्ब खान तयार भएका नेता पनि छन् । १८ अर्बमा हुने कामलाई ३६ अर्ब बनाउन सहमत हुने सरकारकै तजबिजमा अन्य कति भ्रष्टाचार भयो होला ? तर वामदेवलाई यस्ता कुरामा चासो छैन । नेतामा किन राष्ट्रभक्त, देशभक्त, बन्नु पर्ने भावना हरायो ? ७ सय ५३ स्थानमा स्थानीय सरकार छन् । सात प्रदेशमा गुटका आधारमा सरकार छन् ।

कम्युनिष्ट पार्टीमा नेतृत्व शुद्ध भएन भने कार्यकर्ता शुद्ध खोजेर पाइँदैन । काँग्रेसले शुद्ध नेता नैतिकवान नेतत्वको अपेक्षा पूरा गर्दैन । प्रजातन्त्र भन्दै गर्दा काँग्रेसले ०६२÷०६३ को आन्दोलनपछि ०६४ को चुनावबाट स्थापित संसदमा माओवादी ठूलो दल भएर पनि देश चलाउन नदिएको इतिहास छ । काँग्रेसको दुष्ट्याइँमा आफ्नो भाग प्रतिशतमा खोज्ने तत्कालिन एमालेले परिवर्तनलाई संस्थागत गर्न चासो दिएको थिएन । त्यही काँग्रेसको पुच्छर भएर आधा–आधा खाने खड्ग ओली लोकतान्त्रिक गणतन्त्रका संरक्षक र सञ्चालक हुँदा जनताले कम्युनिष्टप्रति दर्शाएको साथ राम्रो ठानेनन् । एकीकृत पार्टीमा गुटको खेती हुँदा मन्त्रिपरिषद्प्रति आक्रोश बढेको छ । भ्रष्ट र नालायकहरूलाई राष्ट्रको साँचो सुम्पँदा पार्टीको लुटाहा नेतृत्वले कष्ट थपेको हो । यो मामिलाको जम्मेवारी नेकपाको सचिवालय लिन सक्दैन । प्रम ओलीलाई बदनाम गराउने अरु छैनन् उनकै दलाल र छौडाहरू हुन् । उनले त्यो सत्य बुझ्दैनन् । अध्यक्ष ओलीले आफ्नो गुटका मन्त्रीले देखाएको चमत्कारको ख्याल गर्दैनन् । ओलीले असक्षमहरूलाई नै मन्त्री मण्डलमा राख्दा धेरैलाई चित्त बुझेको छैन ।

पार्टीमा अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरू वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललाई ओली गुटले पेलेको छ । आफ्नै कार्यकर्ता गुटको भेला गराउनु आफ्नै टिमले देखाएको सजाएको पोकोबाट प्रमलाई पनि अब सुरक्षित हुन कठिन छ । किनकि ओलीले १० दिन अस्पताल बस्दा नेपालको स्वास्थ्य क्षेत्रलाई कसरी बुझे, कति बुझ्ने प्रयास गरे ? त्यसको समिक्षा नेकपाले गर्दैन । केन्द्रीय समिति छ, बैठक बस्दैन प्रदेश कमिटी छ, त्यही जनपक्षीय क्रियाकलाप सक्रिय छैनन् । विद्यार्थीलाई मेडिकल माफियाले पेलेका छन् । सरकार विद्यार्थी र मेडिकल कलेज मालिकको लडाईँमा विद्यार्थीको पक्षमा हुन पर्नेमा मालिकको सेवक बनेको स्थितिमा वामदेवलाई बर्दियामै थन्क्याएका केपी ओली, ईश्वर पोखरेलले प्रधानमन्त्री पद दिन्छन् ? मुर्ख वामदेवले यो कुरा किन नबुझेका हुन् । उनले प्रधानमन्त्री पद खाने हो भने भोलिको निम्ति टिम बनाउनु प¥यो ।

प्रचण्डको साथमा उनी लागे भने केपीबाट पीडित माधव नेपाल ओलीकै पुच्छर बने पनि प्रचण्ड–वामदेव मोर्चा बलियो हुन्छ । माधव नेपाल विश्वास गर्न योग्य नेता बन्न कठिन छ । उनी पेलिने धेरै उपलब्धी थोरै लिने नेता भएको उनकै गुटलाई ओलीले प्रदेश प्रमुख नियुक्तिमा दिएको लोप्पा नै काफी छ । यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । यो बैठक कम्तीमा दुई दिन चल्नेछ । बैठकले केन्द्रीय विभाग र आयोगहरूलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरूलाई निर्देशनसमेत दिएको प्रवक्ता नाराणककाजी श्रेष्ठले जानकारी दिएका छन् ।