Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वको आर्थिक वृद्धि १९९० यताकै कम

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने जनाएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ ।
उनले यस वर्ष विश्वको आर्थिक वृद्धि तीन प्रतिशतभन्दा कम रहने र त्यसको आधा हिस्सा भारत र चीनको हुने जानकारी दिएकी हुन ।
“आगामी पाँच वर्षसम्म तीन प्रतिशतभन्दा कम आर्थिक वृद्धिसहितको आर्थिक सुस्तता रहनेछ । जुन सन् १९९० यताकै सबैभन्दा न्यून मध्यम अवधिको वृद्धि प्रक्षेपण हो । विगत दुई दशकको औसत ३।८ प्रतिशतभन्दा कम हो,” आईएमएफ प्रमुखले भनिन् ।
“उदीयमान अर्थतन्त्रहरूमा केही आर्थिक वृद्धि हुने देखिन्छ । एसिया उज्यालो ठाउँ हो । भारत र चीनले २०२३ मा विश्वव्यापी वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरिएको छ । तर, अरूले सामान्य वृद्धि देख्नेछन्,” उनको भनाइ छ ।
विश्वव्यापी मन्दीको बीचमा अघि बढ्न गाह्रो हुने हुँदा न्यून आय भएका देशहरूलाई भने, कठिनाइ हुनसक्ने देखिएको छ । “कोभिड–१९को संकटले सुरु गरेको गरिबी र भोकमरीको प्रवृत्ति अझै बढ्न सक्छ,” उनले भनेकी छन् ।
आईएमएफ र विश्व बैंकका नीति निर्माताहरू विश्वव्यापी अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्न भेला हुने कार्यक्रमभन्दा अघि यो टिप्पणी आएको हो ।
ईयूलगायत पश्चिमा राष्ट्रहरूले बैंकिङ अवस्था कमजोर हुँदा भारतको आर्थिक वृद्धि अहिलेसम्म लचिलो रहेको छ । करिब ९० प्रतिशत विकसित अर्थतन्त्रहरूले यस वर्ष आफ्नो वृद्धिदरमा गिरावट देख्ने अनुमान गरिएको आईएमएफकी प्रबन्ध निर्देशक जर्जिएभाको भनाइ छ ।