Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर आन्तरिक ९८ प्रतिशत मात्र उठेको छ ।
यस आर्थिक वर्ष आवको चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो ।
सरकारले चैतसम्म १ खर्ब ५० अर्ब मात्र आयकर उठाएको छ । गत वर्ष यसैअवधिसम्म १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर उठेको थियो । ब्याजकर २५ अर्ब २१ करोड रुपैयाँ उठेको छ । गत आवमा ब्याजकर १७ अर्ब ५६ करोड उठेको थियो ।
भ्याट भने ७८ अर्ब ८९ करोड रुपैयाँ मात्र उठेको छ । गत आवको यसै अवधिमा भ्याट ८० अर्ब ९१ करोड उठेको थियो । अन्तःशुल्क भने गत आवको तुलनामा केही बढेको छ । यस आवमा चैतसमम ७४ अर्ब २८ करोड उठेको छ । गत आवको चैतसम्म ७१ अर्ब ४९ करोड रुपैयाँ अन्तःशुल्क उठेको थियो ।
यो वर्ष राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछि छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।