Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । तेस्रो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका छन् । प्रधानमन्त्री दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते बिहान दिल्लीतर्फ उड्ने सरकारी स्रोतले जनाएको छ । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । स्रोतका अनुसार भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेबमोजिम भ्रमण गर्न सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदबीच कुराकानी भएको छ । भ्रमणकै गृहकार्य भइरहेका बेला कांग्रेस नेता साउद आइतबार परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । परराष्ट्रमन्त्री साउदले भ्रमणको गृहकार्य भइरहे पनि मितिको सन्दर्भमा अझै छलफल चलिरहेकै बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रमणको मिति निश्चित गर्ने गृहकार्य भइरहेको बताए । माओवादी अध्यक्ष दाहाल गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएको पर्सिपल्टै दाहालले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । परराष्ट्र मन्त्री नभए पनि चैत पहिलो सातादेखि नै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अघि बढेको थियो । दाहालले दोस्रो पटक विश्वासको मत लिएपछि नै भारत जाने तरखर गरेका थिए । तर भारतीय पक्षबाट मितिको प्रस्ताव आएको थिएन । भारत भ्रमणको गृहकार्यकै लागि भारतका लागि नेपाली राजदूत शंकर शर्मा फागुन अन्तिम साता काठमाडौं आएका थिए । त्यस अवसरमा राजदूत शर्माले प्रधानमन्त्री दाहाल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भ्रमणका लागि आवश्यक विषयवस्तुबारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आवश्यक गृहकार्यका लागि राजदूत शर्मालाई निर्देशन पनि दिएका थिए । दाहाल प्रधानमन्त्रीका रूपमा यसअघि दुई पटक भारत भ्रमणमा गए । दाहाल सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतको भ्रमण नगरीकन बेइजिङ ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई उनले तोडेको भनेर त्यति बेला चर्चा भएको थियो । तर, भारत असन्तुष्ट बनेको बुझेपछि दाहालले बेइजिङबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने बताएका थिए । दाहालले सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल