Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न रहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार एयर एम्बुलेन्समार्फत भारतको एम्स अस्पताल लगिएको थियो।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए। राष्ट्रपति पौडेल गत चैत १८ गते पनि पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। ५ दिन भर्ना भएर उपचार गराएका पौडेलवैशाख ४ गते फलोअप परीक्षणका लागि पुनः अस्पताल पुगेका थिए। शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेल फोक्सोमा संक्रमण र पानी जमेको पाइएको छ। निमोनियाका कारण पानी जम्नुलाई जटिल स्वास्थ्य समस्या मानिन्छ। त्रिवि शिक्षण अस्पतालले त्यस बेला बायाँ छातीको तल्लो भागबाट तरल पदार्थ ‘प्ल्युरल फ्लुइड’ निकालेर परीक्षण गरिएको विज्ञप्तिमार्फत् जनाएको थियो।
सामान्यतया निमोनियाको कारण र कस्तो एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पत्ता लगाउन ‘प्ल्युरल फ्लुइड’ भनिने यस्तो तरल पदार्थको परीक्षण गरिने चिकित्सकहरू बताउँछन्। निमोनियाको उपचार नेपालमै हुने भएपनि उपचारका लागि विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।

राष्ट्रपति पौडेलले सकेसम्म बाहिरै गएर उपचार गर्ने मनशाय व्यक्त गरेका थिए। परिवार र सरकारका तर्फबाट विदेश लगेर उपचार गर्ने कुरामा जोड दिएपछि चिकित्सकहरुले नेपालमै उपचार गर्न जोखिम उठाउन चाहेनन् र उनलाई रिफर गरेका हुन्। उनले भारतमै पुगेर उपचार गराउने त्यहाँ राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ। स्रोतका अनुसार राष्ट्रपति पौडेलले उपचारसँगै अनौपचारिक राजनीतिक भेटघाट समेत गर्नेगरी दिल्ली गएका हुन्।

‘उहाँलाई देखिएको स्वास्थ्य समस्यालाइर्ए भारत आउनुपर्ने नै थिएन उहाँकै इच्छा अनुसार उपचारका लागि भारत पठाइएको हो’, स्रोतले भन्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसंध्यामा राष्ट्रपति पौडेलल अनौपचारिक राजनीतिक भेटघाट गर्ने स्रोतको दाबी छ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको निम्तो पाइसकेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाएका हुन्। भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले लिएर आएको निम्तो राजदूत श्रीवास्तवमार्फत प्रधामन्त्री प्रचण्डलाई पठाएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नेछन्।