Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता टुङ्गिदै

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकताबारे छिनोफानो गर्न छलफल जारी छ । पार्टीको नेतृत्व, नाम, संरचना र पार्टीले लिने कार्यदिशाका विषयमा टुङ्गो लगाउन दुई पार्टीका शीर्ष नेताहरुबीच नियमित छलफल चल्दै आएको छ । एकताका लागि सैद्धान्तिक समझदारी भइसकेकाले वैशाख १८ गते पार्टी एकता घोषणा गर्ने तयारी छ ।
एकतापछि बन्ने नयाँ पार्टीमा तीनदेखि चार जना हुने गरी अध्यक्ष मण्डल बनाउने विषयमा छलफल भइरहेको नेकपा क्रान्तिकारी माओवादीका एक नेताले बताए । अध्यक्ष मण्डलमा सिपी गजुरेल, रामसिंह श्रीष, धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई बनाउने गरी छलफल भएको ती नेताले बताए । अध्यक्ष मण्डलको संयोजक भने वैद्यलाई बनाउने तयारी गरिएको छ । यस्तै पार्टीको नाम नेकपा मालेमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमध्ये एउटा राख्ने गरी छलफल चलेको छ ।

एकतापछि बन्ने नयाँ पार्टीमा दुवै पार्टीका सबै केन्द्रीय सदस्यलाई राखिने भएको छ । एकतापछि केन्द्रीय समिति २ सयको सङ्ख्यामा हुन सक्ने बताएको छ । त्यस्तै नयाँ पार्टीको वैचारिक लाइन मार्क्सवाद, लेनिनवाद, माओवाद हुने भएको छ । पार्टीको आम कार्यदिशा नयाँ जनवादी क्रान्ति, आधारभूत कार्यदिशा वैज्ञानिक समाजवाद हुने गरी छलफल भएको ती नेताले बताए । तर, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले पार्टी एकताका प्राविधिक विषय खोल्न नमिल्ने बताए । ‘हामीले पार्टी नेतृत्व, पार्टीको नाम र पार्टी संरचनाका विषयमा मसिनो गरी छलफल जारी राखेका छौँ’ गजुरेलले भने, वैशाख १६ गतेसम्म सबै विषय टुङ्गो लगाउँछौँ त्यसपछि सार्वजनिक गर्ने तयारी छ । नयाँ पार्टी संसदीय निर्वाचनमा भने सहभागी नहुने गजुरेलले बताए ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि वैद्य र बास्तोला एउटै पार्टीमा हुने भएका छन् ।