Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उपनिर्वाचनको नतिजासँगै आक्रामक बनेको राष्ट्रिय स्वतन्त्र पार्टी विस्तार नरम बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। सरकारबारे निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो। बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने विषयमा निर्णय गर्ने बताइएको छ। बैठक साँझ ५ बजे बस्ने रास्वपाले जनाएको छ। सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरिदिएपछि रास्वपा सभापति रवि लामिछानेको सांसद पद गुमेपछि यो पार्टीका मन्त्रीहरू सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन भने कायमै राखेको छ। गत सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारबारे निर्णय लिन शुक्रबार संसदीय दलसहित संयुक्त बैठक बोलाउने निर्णय गरेको थियो। सर्तसहित सरकारमा सहभागी हुने अन्यथा समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने नीति रास्वपाले लिएको छ।
प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनका साझेदार दलहरू रास्वपालाई सरकारमा सहभागी गराउन प्रयासरत छन्। आइतबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका रास्वपा सभापति लामिछानेले एक दिनपछि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए। दुवै नेतासँगको भेटमा रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताइएको छ। सत्तारुढ दलका नेताहरूका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ। रास्वपालाई सरकार सहभागी गराउने विषयमा सत्ता गठबन्धनका सबै दलहरू सैद्धान्तिक रूपमा सकारात्मक देखिएका छन्। तर, सरकारमा सहभागी पाँच दलभित्र मन्त्रालय परिवर्तन र भागबन्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई सकस परिरहेको छ।
रास्वपा पनि सरकारमा सहभागी हुन तयार देखिन्छ। तर, यसका लागि रास्वपाले साविककै मन्त्रालय पाउनुपर्ने, संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने, मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउनुपर्ने र सरकारको निरन्तरताको सुनिश्चिततालगायतका सर्तहरू अघि सारेको छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल